धादिङ,साउन ४
उच्च अदालत पाटनले झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका सात जनामाथि अनुसन्धान गर्न १० दिनको म्याद थप गरेको छ ।
बिहीवार आरोपीहरूलाई अदालतमा पेस गरिएकोमा अदालतले अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागलाई १० दिनको अनुमति दिएको अदालतका उपरजिस्ट्रार मन्दिरा शाहीले बताउनुभयो।
अहिलेसम्म विभागले एक चिनियाँसहित सात जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । चीन जान लागेका बेला उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।अन्य पक्राउ परेकाहरूमा ट्याक्सी चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगी हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन् ।
भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले हङकङबाट ल्याइएको झन्डै एक सय किलो सुन बुधवार राति बरामद गरेको थियो ।