धादिङ,साउन २
फोहर बोकेर बञ्चरेडाँडा जाने ठूला गाडीलाई धुनिबेशी र ककनीका स्थानीयले आज पनि अवरोध गरेका छन्।
काठमाण्डौ उपत्यकाको फोहर बोकेका गाडी आज पनि ल्याडफिल्ड साइट बञ्चरेडाँडा जान सकेका छैनन् । फोहरको विषयलाई लिएर नुवाकोटको ककनी र धादिङको धुनीबेसीका स्थानीयबासिन्दाले आन्दोलन थालेपछि काठमाण्डौबाट फोहर बोकेर गाडी बञ्चरेडाँडा जान नसकेका हुन् ।स्थानीय बासिन्दाले हिजोदेखि आन्दोलन थालेका हुन् । काठमाण्डौको फोहर लिएर गएका गाडी स्थानीय बासिन्दाले बीच बाटोमै रोकेपछि ती गाडी फर्किएका र आज फोहर बोकेका कुनै पनि गाडी नगएको नुवाकोटको ककनी गाउँपालिका–३ का वडाअध्यक्ष घननाथ बजगाईँले जानकारी दिनुभयो ।नुवाकोटको सिसडोल ल्यान्डफिल्ड भरिएपछि अहिले बञ्चरेडाँडामा फोहर व्यवस्थापन भइरहेको छ । बञ्चरेडाँडा धादिङ र नुवाकोटको सिमानामा पर्छ। काठमाण्डौ महानगरसहित उपत्यकाका १८ वटा पालिकाको फोहर बञ्चरेडाँडा र सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।
फोहर प्रभावित क्षेत्रका बासिन्दा र जनप्रतिनिधिले यसअघि विभिन्न ६ बुँदे माग राखेका थिए । उनीहरुले माग पूरा नभएको भन्दै फोहर फाल्न रोकेका हुन् ।