धादिङ– धादिङको नीलकण्ठ नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औजार सामाग्री वितरण गरेको छ । नगरपालिकाको कृषि औजार तथा उपकरण वितरण कार्यक्रम र संघीय सरकारको सशर्त अनुदान कार्यक्रम मार्फत खेतबारी जोत्ने ट्याक्टर, मिल लगायत मेसिनहरु वितरण गरेको हो ।
कृषि औजार तथा उपकरण वितरण कार्यक्रम अन्तर्गत ९० वटा र संघीय सरकारको सशर्त अनुदान कार्यक्रम १७ वटा ट्याक्टर वितरण गरिएको नीलकण्ठ नगरपालिका कृषि शाखाका कृषि अधिकृत समुन्द्र श्रेष्ठले जानकारी दिए । कार्यक्रम मार्फत ५० प्रतिशत अनुदान पाएका किसानले ५७ हजार पर्ने डिजेल इन्जिन भएको ट्याक्टरलाई २८ हजार पाँच सय र ३० हजार पर्ने पेट्रोल इन्जिनको ट्याक्टरलाई १५ हजारमा पाएका छन् ।
नगरपालिकाले प्रकाशित गरेको सुचनाका आधारमा किसानको माग भएअनुसार अहिले ट्याक्टरसहित कोदो मकै पिस्ने कम्माइन मिल, बाली झार्ने मल्टिक्रप थ्रेसर मेसिन, मकै मात्रै पिस्ने डिक्स मिल, किरा मार्ने विषादी छिट्न प्रयोग गरिने स्प्रे पम्प पनि वितरण गरिएको कृषि अधिकृत श्रेष्ठले बताए । ‘अनुदानका लागि नाम निस्किएका किसान मध्ये धेरैले सामाग्रीहरु लगिसकेका छन् । केहीले लैजान बाँकी छ’, श्रेष्ठले भने ।
संघीय सशर्त अनुदान अन्तर्गत रैथाने बाली प्रवद्र्धन कार्यक्रम मार्फत कम्माइन मिल र मल्टिक्रप थ्रेसर पनि वितरण गरेको छ । किसानलाई काममा सहजता ल्याउने उद्देश्यले कृषि औजार सामाग्री वितरण गरिएको कृषि शाखाका नायव प्राविधिक सहायक मनिषा तिवारीले बताइन् ।
‘युवाहरु बिदेश छिरेका छन् । गाउघरमा बुढा बुढी मात्र छ । काम गर्ने मान्छे नभएपछि गोरु पाल्न छोडेका छन्’, तिवारीले भनिन्– ‘काम छिटो छरितो बनाउन जहाँतही ट्याक्टरको प्रयोग बढ्दै गर्दा हामीले किसानलाई कृषि औजार चलाउने तालिम समेत दिएका छौं ।’ अनुदानमा ट्याक्टर र मिल उपलब्ध गराएसँगै पाँच दिने तालिम पनि दिएको उनले बताइन् ।
अनुदानमा ट्याक्टर पाएका किसानहरुले खेतबारीमा खेती गर्न छिटो र सजिलो हुने विश्वास व्यक्त गरेका छन् । गोरु भएपनि काम गर्न सक्ने मान्छे गाउँमा नहुदा छिटो, सजिलोको लागि ट्याक्टरले जोत्न थालिएको नीलकण्ठ–१३ मधुवनका अशोक गुरुङले बताए ।