नाफामा चल्दै उदयपुर सिमेन्ट


  • दिव्यदर्शन
  • आइतबार, बैशाख १८ २०७९
  • पढ्न लाग्ने समय 2 मिनेट

काठमाडौं,वैशाख १८ । कमजोर व्यवस्थापनका कारण केही वर्षयता घाटामा चलिरहेको उदयपुर सिमेन्ट उद्योग नाफामा चल्न थालेको छ । गैंडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले चालू आर्थिक वर्ष २०७८/७९ देखि लक्ष्य अनुसार नै विक्री शुरू गरेको छ ।

उद्योगले चालू आर्थिक वर्षको ९ महीनामा १८ लाख ९ हजार बोरा सिमेन्ट विक्री गरेको छ । चालू आवमा २४ लाख बोरा सिमेन्ट विक्री गर्ने उद्योगको लक्ष्य छ । सो अनुसार ९ महीनाको विक्रीको अवस्थाले वार्षिक लक्ष्य पूरा हुने विश्वास व्यवस्थापनले गरेको छ । उद्योगका प्रवक्ता लक्ष्मण पोखरेलले चालू आवको विक्री लक्ष्य पूरा भए वर्षेनि भइरहेको घाटामा कमी आउने बताए । पछिल्लो केही वर्षयता उद्योगको औसत घाटा वार्षिक करीब ३० करोड रुपैयाँ छ । चालू आर्थिक वर्षमा वार्षिक लक्ष्य अनुसार सिमेन्ट विक्री गर्न सके उद्योग नाफामा जाने अपेक्षा रहेको उनले बताए ।

यद्यपि, उद्योगलाई आवश्यक पर्ने डिजेल, कोइला, जिप्सम तथा आइरन ओर आदिको मूल्य झन्डै दुई गुणा वृद्धि भएकाले धेरै नाफामा लैजान नसकिने उद्योगका अधिकारीहरू बताउँछन् । पछिल्लो समय सिमेन्टको माग समेत घटेकाले विक्रीमा असर पर्ने सकिने सम्भावना कायमै छ । ‘२० लाख बोरासम्म विक्री गर्दा कुनै ‘इन्सेन्टिभ’ नपाउने तर सो माथि विक्री भएमा प्रतिबोरा १० रुपैयाँका दरले इन्सेन्टिभ पाउने भएपछि कर्मचारीमा उत्साह छाएको छ,’ पोखरेलले भने ।

उद्योगलाई नाफामा लैजान सके बोनसलगायतको सुविधा पाइने, नगद प्रवाह राम्रो हुने भएकाले कर्मचारी लक्ष्य पूरा गर्न केन्द्रित रहेका उनको भनाइ छ । पछिल्लो समय उद्योगको वित्तीय स्थिति सन्तोषजनक रहेको उद्योगका अधिकारीहरू बताउँछन् । उद्योग व्यवस्थापनले आव २०७७/७८ को वित्तीय विवरण तयार गरी सम्पत्ति र दायित्वको यथार्थ मूल्यांकन गरिसकेको छ । उद्योग गत आवसम्मको  ५ अर्ब ४९ करोड ८६ लाख ४७१ नोक्सानी पूर्ति गरी ५६ करोड ३८ लाख ८६ हजार ८४१ रुपैयाँ बचत गर्न सफल भएको छ ।

उद्योग सञ्चालक समितिले आगामी जेठ ३० गते बस्ने वार्षिक साधारण सभाबाट आव २०७७/७८ को वित्तीय विवरण पारित गर्ने निर्णय गरिसकेको छ । विक्री नीति लागू गरी विक्रेतालाई इन्सेन्टिभको व्यवस्था गरिएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web