दैनिक २ लाख लिटर दूध अपुग


  • दिव्यदर्शन
  • शुक्रबार, बैशाख १६ २०७९
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौं,वैशाख १६ । धुलो दूधको मौज्दात घट्दा बजारमा दैनिक २ लाख लिटर दूध अपुग भएको छ । यतिबेला ताजा दूधको उत्पादन घटेको छ भने उद्योगहरूसँग धुलो दूध र बटरको मौज्दात पनि हुनुपर्नेभन्दा करीब आधा कम छ । यसले गर्दा बजारमा दैनिक २ लाख लिटर दूध अपुग हुन पुगेको राष्ट्रिय दुग्ध विकास बोर्डले जानकारी दिएको छ ।

फागुनदेखि भदौसम्म दूध उत्पादन घट्ने र गर्मीयाममा दही, आइसक्रिम जस्ता वस्तुको माग अत्यधिक बढ्ने लगायत विवाह, व्रतबन्ध जस्ता शुभकार्यका कारण उपभोग बढ्ने गर्छ । यो बेला बजारमा दूधको दैनिक कुल माग करीब ९ लाख लिटर हुने बोर्डको भनाइ छ । आपूर्ति ७ लाख १० हजार लिटर मात्रै भएकोले माग धान्न २ लाख लिटर दूध नपुगेको हो । यो बेला गाईवस्तुले पर्याप्त मात्रामा हरियो घाँसपात खान नपाउने भएकाले पनि दूध उत्पादन घट्छ । अघिल्ला वर्षमा यो समयमा सरकारी स्वामित्वको कम्पनी दुग्ध विकास संस्थान र निजी क्षेत्रका डेरीसँग बटर र धुलो दूधको मौज्दात पर्याप्त हुने गरे पनि यो वर्ष घटेको बोर्डको भनाइ छ ।

बोर्डका उपकार्यकारी निर्देशक बाबुकाजी पन्तले अहिले निजी र सरकारी डेरीसँग १४ सय मेट्रिक टन धुलो दूध र २२ सय टन बटर मौज्दात रहेको जानकारी दिए । बोर्डको ३१औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले फागुनदेखि भदौसम्म बजारमा करीब ३१ सय मेट्रिक टन धुलो दूध र २९ सय मेट्रिक टन बटर आवश्यक पर्ने पनि बताए ।

उत्पादन घटेसँगै ताजा दूध संकलन घटेको छ । बोर्डका प्रवक्ता बालक चौधरीका अनुसार यसअघि दैनिक १ लाख ५० हजार लिटर दूध संकलन गरिरहेको दुग्ध विकास संस्थानले अचेल १ लाख १० हजार लिटरमात्रै संकलन गरेको छ । त्यसैगरी, डेरी उद्योग संघले दैनिक ३ लाख ५० हजार र नेपाल डेरी एशोसिएशनले दैनिक २ लाख ६० हजार लिटर दूध संकलन गरिरहेका छन् । गाईभैंसीको नश्ल सुधारमा ध्यान दिएर काम गरेमा उत्पादन कम हुने समयमा पनि अभाव नहुने उनले बताए । आर्थिक अभियानबाट

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web