विदुर,वैशाख १५ । नुवाकोटको सदरमुकामसमेत रहेको विदुर नगरपालिकाको कार्यालयले पाँच वर्षीय उपलब्धि सार्वजनिक गरेको छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका ध्रुवप्रसाद अधिकारीलाई ९ सय ७६ मतान्तरले पराजित गर्दै नेकपा (एमाले)का सञ्जु पण्डित प्रमुख बनेपछि भएका कामहरूलाई नगरपालिकाले हाते पुस्तिकामार्फत पाँच वर्षीय उपलब्धि सार्वजनिक गरेको हो ।
हाते पुस्तिकामा सडक यातायात, शैक्षिक विकास, कृषि तथा बागबानी प्रविधिमा यान्त्रिकरण, पशु सेवा कार्यक्रम, पार्क, भ्यूटावर र व्यायामशाला निर्माणलगायतका विषयलाई आफ्ना पाँच वर्षे उपलब्धिमा समेटिएको छ ।
पाँच वर्षमा २९ किलोमिटर सडक कालोपत्रे, २५ किलोमिटर सडक ग्राबेल र १५ किलोमिटर नयाँ सडक, १३ किलोमिटर सडक ढलान गरेको र २८ किलोमिटर सडकमा नाली निर्माण गरेको नगरपालिकाको दाबी छ ।
नगरभित्र ५१ स्वयंसेवक शिक्षकको व्यवस्था, २१ विद्यालयमा आईटी ल्याब स्थापना, १५ विद्यालयमा पुस्तकालय स्थापना, १० विद्यालयमा शौचालय निर्माण, १६ वटा विज्ञान प्रयोगशाला र १० वटा कम्प्युटर प्रयोगशाला स्थापना गरेको पुस्तिकामा उल्लेख छ ।
यस्तै, छाडा छोडिएका कुकरको बन्ध्याकरण, श्रोत नभएका स्थानमा डिप बोरिङबाट खानेपानीको व्यवस्था, कृषकलाई यान्त्रिकरणमा जोड दिँदै ५ सय ४२ यन्त्र वितरण गरेको विषय पनि उपलब्धिहरूको सूचीमा समावेश छन् ।
त्यसैगरी, स्वास्थ्य केन्द्रहरूमा उपकरणसहितको ल्याब स्थापना तथा अन्यावश्यक स्थानमा थप शहरी स्वास्थ्य केन्द्र स्थापना, नगरका सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि अंग्रेजी पाठ्यपुस्तक वितरण गरेको नगरपालिकाको दाबी छ ।
नगरले ५ सय ९० वटा उद्योग तथा २ सय ४१ व्यापार दर्ता, फोहोर व्यवस्थापनका लागि सेग्रिगेसन हाउस, पशु बधशाला, घण्टाघर निर्माणलाई आफ्ना अन्य उपलब्धि बताएको छ ।
यस्तै, नगरपालिकाको न्यायिक समितिमा दर्ता भएका १ सय ८५ मध्ये १ सय ५ वटा विवाद समाधान गरेको उल्लेख गरेको छ । नगर रिङरोडको ९० प्रतिशत कार्य सम्पन्न भएको नगरप्रमुखको दाबी छ । हिंसापीडित महिलाका लाग सेफ हाउस निर्माण भएको उनले बताए ।
विपद् राहत तथा उद्धारका लागि आपतकालीन सेवा केन्द्र र कभर्डहल निर्माण पनि उपलब्धिको सूचीमा छ । नगरभित्रै प्रदेशस्तरीय रंगशाला निर्माणको क्रममा रहेको जनाएको नगरले नगरभित्रै मिनी रंगशाला निर्माण भइसकेको समेत जानकारी दिएको छ ।