प्रहरी अधिकृतलाई अनुसन्धान प्रशिक्षण


  • दिव्यदर्शन
  • बिहिबार, बैशाख १५ २०७९
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौं,वैशाख १५ । बढ्दो मानव बेचबेखिन, वैदेशिक रोजगार ठगीजस्ता मुद्दामा प्रभावकारी अनुसन्धान गर्न दुई दर्जन प्रहरी अधिकृतहरूलाई प्रशिक्षण दिइएको छ ।

मानव बेचबिखन अनुसन्धान ब्यूरो र मानव अधिकारका लागि जनमञ्चले संयुक्त रूपमा आयोजना गरेको दुई दिने प्रशिक्षणमा मानव बेचबिखन, वैदेशिक रोजगारी ठगी, मानव तस्करी लगायतका विषयमा केन्द्रित हुँदै अनुसन्धानलाई प्रभावकारी बनाउनेबारेमा जोड दिइएको थियो । बुधबार सम्पन्न प्रशिक्षण समारोहमा बोल्दै ब्यूरोका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक टेकप्रसाद राईले प्रशिक्षणले वैदेशिक रोजगारी, मानव बेचबिखनलगायतका विषयमा अनुसन्धान गर्न मद्धत पुग्ने बताए । सहभागीलाई प्रशिक्षण दिँदै श्रम तथा आप्रवासन विज्ञ सोम लुइँटेलले वैदेशिक रोजगारी ठगी र मानव बेचबिखनको समस्यामा परेकालाई प्रभावकारी रूपमा कानूनी सहायता आवश्यकता रहेको औंल्याए ।

 ब्यूरोका प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीले प्रशिक्षणले मानव तस्करी, वैदेशिक रोजगारी, मानव बेचबिखनजस्ता विषयमा अनुसन्धान गर्दा देखिएका विद्यमान कैयन विषयमा प्रष्टता ल्याएको बताए । प्रशिक्षणमा सहभागी प्रहरी निरीक्षक ज्ञानीमञ्जरी शर्माले प्रशिक्षणपछि पीडितको अधिकार कसरी संरक्षण गर्न सकिन्छ भन्नेबारे जानकारी भएको बताए । अर्का प्रहरी निरीक्षक सुरेन्द्र तामाङले अपराध अनुसन्धानका लागि अपनाइने तौरतरिका बारे जानकारी प्राप्त भएको धारणा राखे ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web