नेपालको उडान सुरक्षामा उल्लेख्य सुधार


  • दिव्यदर्शन
  • मंगलबार, बैशाख १३ २०७९
  • पढ्न लाग्ने समय 2 मिनेट

काठमाडौं,वैशाख १३ । नेपालको उडान सुरक्षामा उल्लेख्य सुधार देखिएको छ । ५ वर्षपछि गरिएको सम्परीक्षण (अडिट) ले नेपाली आकाश उडानका लागि थप सुरक्षित भएको देखाएको हो ।

सन् २०१७ मा गरिएको सम्परीक्षणको तुलनामा अहिले उल्लेख्य सुधार देखिएको अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को अध्ययनले देखाएको हो । नेपालको उडान सुरक्षाका विभिन्न आठओटा क्षेत्रको आइकाओले अध्ययन गरेको हो । यो अध्ययनका लागि आइकाओको १० सदस्यीय टोली चैत ३० गते नेपाल आएको थियो । टोलीले वैशाख १२ गते प्रतिवेदन बुझाएको हो । प्रतिवेदन नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमवारै सार्वजनिक गरेको छ ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आइकाओको प्रतिवेदनलाई नेपाली उड्डयन क्षेत्र अझ सुरक्षित भएको बलियो प्रमाण भनेका छन् । आइकाओको सम्परीक्षण टोलीले प्रारम्भिक नतीजा सार्वजनिक गरेको र त्यसअनुसार अहिले नेपालको परिपालना दर ७० दशमलव १ प्रतिशत कायम भएको उनले बताए । नेपालको उडान सुरक्षा निगरानीको स्तर मापन गर्न आइकाओले सन् २००९ मा सम्परीक्षण गरेको थियो । त्यसयता सन् २०१३, २०१६ र २०१७ मा आइकाओले सुरक्षा सम्परीक्षण गरेको छ । यसअघिको अडिटअनुसार नेपालको आठ क्षेत्रको कुल परिपालना दर ६६ दशमलव ७६ प्रतिशत थियो । यसमा सुधार हुँदै अहिले ७० दशमलव १ प्रतिशत कायम भएको हो ।

आइकाओेले गर्ने सम्परीक्षणका आठओटा क्षेत्रमा लेजिस्लेशन एन्ड रेगुलेसन, अर्गनाइजेशन एन्ड सेफ्टी ओभरसाइट फङ्शन, पर्सनल लाइसेन्सिङ, एयरक्राफ्ट अपरेशन्स, एयरवर्दीनेस अफ एयरक्राफ्टस्, एक्सिडेन्ट एन्ड इन्भेस्टिगेशन, एयर नेभिगेशन सर्भिस र एरोड्रम पर्छन् । यी क्षेत्रको परिपालना दरमा सुधार भएको छ ।

यी क्षेत्रमा नेपालले उडान सुरक्षाको नियामक निकायअनुरूप परिपालना नगरेको विषयमा तिनको कार्य र प्रगतिका सम्बन्धमा टोलीले जाँच गरेको हो । आइकाओले नेपाललाई २०१७ मा गम्भीर सुरक्षा चासोको सूचीबाट हटाएको थियो । आइकाओले २००९ मा पहिलोपटक नेपालको यस्तो सुरक्षा सम्परीक्षण गरेको थियो ।

यसैगरी प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट जेठ २ गतेदेखि व्यावसायिक उडान गर्ने घोषणा गरेको छ । केही दिनअघि उडान परीक्षण गरेको उक्त विमानस्थलबाट जेठ २ गतेबाट अन्तरराष्ट्रिय वायुसेवा कम्पनी जजिराले व्यावसायिक उडान शुरू गर्नेछ । उक्त व्यावसायिक उडानको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने कार्यक्रम रहेको प्राधिकरणले जानकारी दिएको छ । झन्डै ७ दशकपछि नेपालले दोस्रो अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन गर्न लागेको छ । २०७१ देखि गौतमबुद्ध विमानस्थललाई विस्तार गर्दै अन्तरराष्ट्रिय विमानस्थलका रूपमा विकास गर्न शुरू गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web