सातौं कृषि गणनाको नतिजा आगामी मंसिरमा आउने, तेस्रो लिङ्गीको जनसंख्या असोजमा सार्वजनिक हुने


  • दिव्यदर्शन
  • शुक्रबार, बैशाख ९ २०७९
  • पढ्न लाग्ने समय 2 मिनेट

काठमाडौं,वैशाख ९ । केन्द्रिय तथ्यांक विभागले सातौँ राष्ट्रिय कृषि गणना २०७८ शुरु गरेको छ । विभागले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी दिएको हो । 

विभागकाअनुसार गत वैशाख ६ गतेबाट कृषि गणना कार्य शुरु भएको छ । वैशाख ६ गतेबाट शुरु भएको तथ्यांक संकलन कार्य जेठ मसान्तसम्म हुने विभागले जनाएको छ । 

कृषि गणना कार्य तीनै तहका सरकारलाई चाहिने कृषि सम्बन्धी तथ्यांक उपलब्ध गराउने उद्देश्यका साथ सञ्चालन गरिएको कृषि तथा पशु गणना विभागका निर्देशक डा. महेशकुमार सुवेदीले बताए । 

उनले गत दुई वर्ष यता कृषि गणनाको तयारी थालेको र वैशाख ६ गतेबाट कृषि गणना शुरु गरेको बताए । निर्देशक सुवेदीले काठमाडौं ललितपुर र भक्तपुरको हकमा शुक्रवारदेखि मात्रै गणना कार्य शुरु हुने जानकारी दिए । 

उनले कृषि गणनाको प्रारम्भिक नतिजा मंसिर अन्तिमसम्म गर्ने र असार मसान्तसम्म सम्पूर्ण संकलित फारमहरु केन्द्रमा ल्याइसक्ने पनि बताए । 

निर्देशक सुवेदीले अहिलेसम्म कृषि गणनाका लागि ५ करोड रुपैयाँ खर्च भइसकेको र यस वर्ष गणनाको मुख्य समय भएकोले ७२ करोड खर्च हुने अनुमान गरिएको बताए । त्यस्तै अर्को वर्ष डेटा इन्ट्री, प्रकाशनका लागि लगभग करिव ९ करोड रुपैयाँ गरी कुल कृषि गणनाका लागि ८६ करोड रुपैयाँ खर्च हुनसक्ने आँकलन गरिएको बताए ।

त्यस्तै केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले तथ्यांक विभागले आगामी असोज महिनासम्म तेस्रो लिङ्गीको जनसंख्याको विवरण सार्वजनिक गर्ने बताए । उनले तेस्रो लिङ्गीहरुको जनसंख्या गणना गर्न सहज नभए पनि राज्यका लागि यो तथ्यांक आवश्यक पर्ने भएकोले राष्ट्रिय जनगणना २०७८ मा यसबारे विवरण संकलन गरिएको बताए । 

उपमहानिर्देशक रेग्मीले कृषि जनगणनामा भने नितान्त कृषकको विवरण, समस्या र कृषिको अवस्थाका बारेमा गणना हुने बताए । उनले राष्ट्रिय जनगणनामा प्राप्त भएको कृषकको तथ्यांकका आधारमा नै यो गणना गर्न लागेको स्पष्ट पारे ।

वि.सं. २०१८ सालदेखि हरेक १०/१० वर्षमा कृषि गणना गर्ने गरिन्छ । तथ्यांक विभागले यस वर्षको कृषि गणना भने २०७८ चैत्र १ गतेदेखि ७७ वटै जिल्लामा कृषि गणना कार्यालय स्थापना गरी गणना शुरु गरेको छ । 

विगतका कृषि गणनाहरुमा जिल्लास्तरीय कृषि तथ्यांक मात्रै प्रकाशन गर्दै आएकोमा यस पटक  ७५३ वटै गाउँपालिका/नगरपालिका सम्मको कृषि तथ्यांक संकलन हुनेछ ।

वैज्ञानिक विधि प्रयोग गरी करिव ३ लाख ५० हजार कृषक परिवार छनोट गरेर कृषक परिवार प्रश्नावलीमार्फत कृषि तथा पशुपंक्षीपालनसम्बन्धी विस्तृत विवरण संकलन गर्ने लक्ष्य लिइएको छ । 

कृषि गणनाका लागि ५ हजार १ सय ५० गणक, १ हजार ३ सय ५० सुपरिवेक्षक तथा ७७ कृषि गणना अधिकृतहरुसहित ७ हजार २ सय कर्मचारी प्रत्यक्ष रुपमा स्थलगत कार्यमा परिचालित रहनेछन् । 

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web