जटिल बन्दै पशुमा बाँझोपन


  • दिव्यदर्शन
  • बिहिबार, बैशाख ८ २०७९
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौं, वैशाख ८ । पशुमा बाँझोपनको समस्या जटिल बन्दै गएको छ । देशव्यापी रूपमा २० प्रतिशत पशुमा बाँझोपन रहेको छ । प्रत्येक सय भैँसी र गाईमध्ये २० वटामा बाँझोपनको समस्या पाइएको भन्दै यसबाट बर्सेनि कम्तीमा एक अर्ब रुपियाँभन्दा बढीको क्षति भइरहेको छ ।

नेपालमा ७३ लाख गाई र ५१ लाख भैँसीको सङ्ख्या छ तर बाँझोपनको समस्या देखिँदा किसानको गोठ नै रित्तो हुने अवस्था उत्पन्न भएको छ । पशु चिकित्सकहरूका अनुसार पेटभर खान, सोतरमा सुत्न र नियमित रूपमा नाम्ले तथा जुकाको औषधि नपाउँदा पशुमा बाँझोपनको समस्या बढेको हो । पशुविज्ञ डा लोकनाथ पौडेलले किसानले दुःखकष्ट सहेर हुर्काएका पशुमा बाँझोपनको समस्या देखिँदा त्यसले समग्र अर्थतन्त्रलाई असर पार्ने बताउँदै भने, “यसले दूध उत्पादनमा समेत असर पारिरहेको छ ।”

“दूध उत्पादन गर्ने भैँसी मासुका लागि प्रयोग गर्दा किसानले लाखौँ रुपियाँ नोक्सानी बेहोर्नुपर्छ,” पशुविज्ञ डा पौडेलले भने, “यसको रोकथामका लागि कृषक र सरकारबीच समन्वय आवश्यक छ । खाना कसरी खुवाउने, गोठको सुधार कसरी गर्ने भन्नेबारेमा कृषकका लागि समुदायस्तरमै पुगेर ज्ञान दिनुपर्छ ।

“पशु सेवा विभागका सूचना अधिकारी डा चन्द्र ढकालले पोषणयुक्त आहारमा ध्यान पु(याउन सके पशुमा हुने बाँझोपनको समस्या निराकरण हुने बताए । सङ्घीय, प्रदेश र स्थानीय तहसँग समन्वय गरेर बाँझोपन घटाउने कार्यक्रम सञ्चालन भइरहेका छन् । “पशुलाई टन्न खुवाएर मात्र हुँदैन शरीरमा आवश्यक पर्ने प्रोटिन, चिल्लो पदार्थ, खनिज पदार्थ, भिटामिन, कार्बोहाइड्रेट मिलाएर खुवाउनुपर्छ,” उनले भने । खाना खान नपाउने र समयमै नाम्ले तथा जुकाको औषधि खुवाउन नसक्दा बाँझोपनको समस्या बढिरहेको उनको भनाई छ ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web