न्यादी आयोजनाको विद्युत् उत्पादन परीक्षण सुरु


  • दिव्यदर्शन
  • बिहिबार, बैशाख ८ २०७९
  • पढ्न लाग्ने समय < 1 मिनेट

लमजुङ,वैशाख ८ । जिल्लाको मस्र्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शन एन्ड इन्स्टलेशन कम्पनीले निर्माण गरेको ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको बिजुली उत्पादन परीक्षण शुरू भएको छ । मंगलवारदेखि यहाँ उत्पादन परीक्षण शुरू गरेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए ।

आजदेखि तीन दिनसम्म सुक्खा परीक्षण र दुई दिन चलाएर नै परीक्षण गरिने भएको छ । सो परीक्षणपश्चा्त १२ देखि १८ घण्टा प्लान्ट बन्द हुनेछ । सो पश्चात् पुनः प्राविधिक जाँच गर्ने र सबै ठीक भई बिजुली उत्पादन थालेको १५ दिनपछि मात्र व्यावसायिक रूपमा प्राधिकरणको अनुमतिपश्चा्त बिजुली उत्पादन अघि बढ्ने आयोजनाले जनाएको छ ।     

आयोजनाको बिजुली २२० केभी मस्र्याङ्दी करिडोर प्रसारण लाइनअन्तर्गतको खुदी सबस्टेशनमा जोड्ने गरी नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भएको छ । प्राधिकरणसँग सम्झौता गरिएअनुसार प्रसारण लाइन बनाउन नसक्दा वैकल्पिक रूपमा ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ को भुलभुले–मस्र्याङ्दी प्रसारण लाइनमा जडान गर्न आयोजना अघि बढे पनि सहमति जुट्न नसक्दा दुई महिनादेखि दैनिक ३० मेगावाट बिजुली खेर गइरहेको थियो । केही समयअघि मात्र सम्बन्धित मन्त्रालय र प्राधिकरणबाटै सोही लाइनअन्तर्गत सोही गाउँपालिका–८ लाम्पाटामा रहेको १३२ केभीको चौथो टावरमा जोड्न निर्देशन दिएको थियो ।     

विसं २०७३ चैत महिनादेखि निर्माण थालनी गरेको आयोजनाले तीन वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौता भएको थियो । सम्झौतानुसार निर्माण सम्पन्न हुन नसकेपछि पटकपटक म्याद थप गर्दै निर्माण कार्य सम्पन्न गरेको यस आयोजनामा ६ अर्बको भन्दा बढी खर्च लागेको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web