काठमाडौं, चैत २८ । सरकारले काठमाडौं उपत्यकामा पहिलो फ्लाई ओभरको निर्माणका लागि जाइनको काम सुरु गरेको छ । काठमाडौं उपत्यकामा अत्यधिक जाम हुने गरेको ललितपुरको ग्वार्को चोकमा पहिलोपटक फ्लाई ओभर निर्माणअन्तर्गत सर्वेक्षणको काम सम्पन्न भई त्यसको ढाँचा (डिजाइन) तयारको काम सुरु भएको हो ।
सरकारको सो फ्लाई ओभरको चाँडो निर्माणको काम अघि बढाउने तयारी छ । आगामी दुई महिनामा डिजाइन सक्ने र त्यसपछि निर्माण कार्य अघि बढाउने योजनामा सरकार रहेको पाइएको छ ।
१९ फागुनमा डिजाइन सुरु भएकोमा आगामी १६ असारसम्ममा सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । निर्माण थालिएपछि २० महिनामा काम सक्नुपर्नेछ । सरकार आफैंले ईपीसी (इन्जिनियरिङ प्रोक्युअमन्ट् एन्ड कन्सट्रक्सन)सँग सम्झौता गरेर उपत्यकामा पहिलो फ्लाई ओभर निर्माण गर्न लागेकोे हो ।
सरकारले ग्वार्कोमा फ्लाई ओभर निर्माण गर्ने तयारी गरेसँगै त्यस ठाउँमा ट्राफिक व्यवस्थापन कसरी गर्ने भन्ने विषय महत्वपूर्ण विषयका रूपमा आएको छ । महानगरीय ट्राफिक महाशाखाले ग्वार्को चोक यातायातको उच्च चाप हुने स्थान भएकाले समस्या उत्पन्न हुन सक्ने जनाउँछ ।
फ्लाई ओभरको जगको काम गर्दा मुख्य सडक अवरुद्ध हुने भएकाले त्यसको विकल्प भने खोज्नुपर्ने देखिएको छ । त्यसो त फ्लाई ओभर निर्माण सम्पन्न भएपछि ग्वार्को चोकमा ट्राफिक व्यवस्थापनको संरचनामासमेत परिवर्तन हुने बताइएको छ ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै फ्लाई ओभरको उचाइ ६ मिटर हुनेछ । निर्माण सम्पन्न भएपछि मंगलबजारबाट इमाडोल वा इमाडोलतर्फबाट मंगलबजारतर्फ जाने सवारीसाधन पुलमुनिबाट जानेछन् भने फ्लाई ओभरमाथि चक्रपथतर्फ जाने सवारी साधन चल्नेछन् ।
काठमाडौं उपत्यकामा हाल कलंकी चोकमा अन्डरपासमार्फत सवारीसाधन चल्ने गरेका छन् । चक्रपथमा चल्ने सवारीसाधन अन्डरपासमार्फत पास हुने गरेका छन् भने कालिमाटीबाट नागढुंगा र नागढुंगाबाट अन्यत्र जाने सवारीसाधन पुलमाथिबाट आवतजावत गर्ने गरेका छन् ।
चीन सरकारले पहिलो खण्डको सडक विस्तार गर्दा खसीबजारबाट कलंकीसम्म अन्डरपास निर्माण गरेको थियो । यो नै नेपालमा निर्माण भएको पहिलो ‘अन्डरपास’ हो ।
हाल काठमाडौं उपत्यकाको जाम कम गर्ने उद्देश्यसहित ग्वार्कोमा फ्लाई ओभर निर्माण गर्न लागिएको सरकारी पक्षले जनाएको छ ।
यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।