काठमाडौं,चैत २८ । सभामुख अग्निप्रसाद सापकोटाले कोरोना संक्रमणपछि उद्योग, व्यवसाय लयमा फर्किन लागेकै बेला व्यावसायिक प्रवर्द्धनमा केन्द्रित हुन आग्रह गरेका छन् । नयाँ सोच र व्यवहारलाई अघि बढाए मात्र अर्थतन्त्रका आयाम विस्तार र विकास हुने उनले बताए ।
नेपाल चेम्बर अफ कमर्शको ७१औं वार्षिकोत्सवका अवसरमा आइतवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सो धारणा राखेका हुन् । उक्त कार्यक्रममा सरकारका मुख्यसचिव शंकरदास बैरागीले व्यावसायिक क्षेत्रको प्रवर्द्धन र विस्तारमा सहयोग गर्न सरकार तत्पर रहेको बताए । सो अवसरमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले आयात कटौतीले मात्र विदेशी मुद्राको सञ्चिति नबढ्ने बताए ।
कोरोना संक्रमणका कारण थलिएको उद्योग, व्यवसाय तंग्रिन थालेको भन्दै उनले यस्तो अवस्थामा आयात कटौतीले अर्थतन्त्रमा थप नकारात्मक असर पर्ने दाबी गरे । ‘मुलुकको कुल निर्यातले पेट्रोलियम पदार्थको आयात पनि धान्न सकेको छैन,’ उनले भने, ‘पूँजीगत वस्तुहरू, औद्योगिक कच्चा पदार्थको रूपमा प्रयोग हुने वस्तुहरूको आयात समेत निरुत्साहित गर्दा गम्भीर असर पर्छ ।’ परिवर्त्य विदेशी मुद्रा आर्जनको स्रोत वृद्धि तथा विस्तार नगरेसम्म आयात कटौतीले मात्रै विदेशी मुद्राको सञ्चिति बढ्न नसक्ने उनको दाबी छ ।
आयात तथा उपभोगमुखी प्रवृत्ति बढेकाले बाह्य व्यापारमा असन्तुलन बढेको अध्यक्ष मल्लले बताए । स्वदेशी उत्पादनको खपतलाई प्रोत्साहन गरी हरेक क्षेत्रमा आयात प्रतिस्थापनको लक्ष्य किटान र निर्यात प्रवर्द्धनका सम्पूर्ण उपाय अवलम्बन गर्नु जरुरी रहेको उनले बताए । एलसी एवं भन्सारमा कारोबार मूल्यलाई मान्यता दिनुपर्ने पनि उनले औंल्याए ।
अध्यक्ष मल्लले आयकरको अधिकतम सीमा व्यक्तिगततर्फ ६ लाख र दम्पतीतर्फ ८ लाख रुपैयाँ पुर्याउन माग गरे । कारोबारको आधारमा आयकर निर्धारण गर्न र मूल्य अभिवृद्धि करको खाता राख्ने थ्रेसहोल्ड ५० लाखबाट बढाई १ करोड रुपैयाँ पुर्याउन उनले आग्रह गरे । सरकारले यो नीति ल्याउँदा साना व्यवसायीलाई राहत पुग्ने र राजस्व पनि बढ्ने उनको भनाइ छ ।
सो अवसरमा चेम्बरले ईश्वरलाल लाइफ टाइम एचिभमेन्ट अवार्डबाट आईसीटीसी ग्रूपका अध्यक्ष रामलाल श्रेष्ठलाई सम्मान गरेको छ । यस्तै जुद्धबहादुर श्रेष्ठ मेमोरियल अवार्ड (व्यापारतर्फ) वैद्यज् अर्गनाइजेशन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसका अध्यक्ष सुरज वैद्य र वनवारीलाल मित्तल मेमोरियल अवार्ड (पर्यटनतर्फ) अन्नपूर्ण ट्राभलका अध्यक्ष नवराज घिमिरेलाई दिइएको छ ।
यसैगरी राजबहादुर चिपालु मेमोरियल अवार्ड (कृषितर्फ) निम्बस ग्रूपका अध्यक्ष जगदीश अग्रवाल र इन्द्रभक्त मेमोरियल अवार्ड (उद्योगतर्फ) एचसी दुगड ग्रुपका अध्यक्ष हुकमचन्द्र दुगडलाई प्रदान गरिएको छ । बालकृष्ण श्रेष्ठ मेमोरियल अवार्ड (सेवातर्फ) कोभिड–१९ महामारीमा संक्रमितको उपचार तथा संक्रमण रोकथाममा उलेख्य योगदान दिने व्यक्तिलाई प्रदान गरेको छ ।
साथै जनकदास श्रेष्ठ मेमोरियल अवार्ड (महिलातर्फ) नेपाल सिल्कका मोहिनी महर्जन र गीता श्रेष्ठलाई प्रदान गरिएको छ । सो अवसरमा चेम्बरले जिल्ला तथा नगरलगायतका चेम्बरहरूलाई समेत कदरपत्र प्रदान गरेको छ । आर्थिक अभियानबाट