काठमाडौं,चैत २८ । खाद्यका लागि कृषि अभियानले नजिकिँदै गरेको स्थानीय निर्वाचनमा भाग लिने राजनीतिक दलका घोषणापत्रमा कृषिसँग सम्बन्धित मुद्दा समेट्न माग गरेको छ । नेपालको खाना र खेतीपाती उन्नत बनाई त्यसको व्यवसायीकरण गर्नेतर्फ जोड दिन राजनीतिक दलहरूले आफ्ना घोषणापत्रमा खाना र खेतीपातीका मुख्य सवाल समेट्नुपर्ने अभियानको माग छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अभियानले संविधानमै कृषिको आधारमा समाजवादतिर जाने उल्लेख भएकाले सोअनुसार काम गर्ने जिम्मेवारी स्थानीय सरकार हो भन्दै राजनीतिक दलहरूले कृषि क्षेत्रलाई सम्बोधन गर्नुपर्ने बताएको हो । कार्यक्रममा अभियानका संयोजक उद्धव अधिकारीले करीब ३ करोड जनसंख्या भएको मुलुकमा १ करोड ८० लाख कृषि पेशामा आबद्ध भएकाले राजनीतिक दलको अबको उद्देश्य देशको माटो र किसान जोगाउनेतर्फ हुनुपर्नेमा जोड दिए ।
माटो, किसान र कृषि पेशा जोगाउन नसके हाम्रो भविष्य सुनिश्चित नहुने र मुलुकको कृषि क्षेत्रमा बहुराष्ट्रिय कम्पनीको दबदबा बढिसकेको भन्दै उनले कृषिका लागि आवश्यक बीउ र मल स्वदेशमै उत्पादन गर्नेतर्फ ध्यान दिनुपर्ने बताए ।