काठमाडौं,चैत २८ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने व्यक्तिको अभिमुखीकरण तालीमलाई कडाइ गरिने बताएका छन् । वैदेशिक रोजगार बोर्डको सचिवालयले आइतवार आयोजना गरेको परिमार्जित पूर्व प्रस्थान अभिमुखीकरण तालीम कार्यान्वयनको अवस्थाबारे सरोकारवालाहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले अनिवार्य रूपमा लिनुपर्ने अभिमुखीकरण तालीम नलिई तालीमको प्रमाणपत्र मात्र लिने र दिने गरिएको पाइए कडा कारबाही गरिने बताएका हुन् ।
मन्त्री श्रेष्ठले सेवाग्राहीलाई प्रदान गरेको सूचना र जानकारीले वैदेशिक रोजगारी सुरक्षित र उपलब्धिमूलक हुने भन्दै पूर्व प्रस्थान अभिमुखीकरण तालीमलाई प्रभावकारी र समयानुकूल बनाइने जानकारी दिए । अभिमुखीकरण तालीम प्रदायक संस्थाहरूलाई मर्ज गरेर स्तरीय सेवा प्रवाहको सुनिश्चितता गरिने मन्त्री श्रेष्ठको भनाइ छ ।
मन्त्रालयका सचिव एकनारायण अर्यालले पूर्व प्रस्थान अभिमुखीकरण तालीमको अभावले वैदेशिक रोजगारीका क्रममा जोखिम बढाउने बताए । यसलाई औपचारिकतामा मात्र सीमित गर्न नहुने उनको भनाइ छ । वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूको वैदेशिक रोजगारको यात्रालाई सुरक्षित, मर्यादित र उपलब्धिमूलक बनाउन विषयगत तालीमलाई पनि प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए । मन्त्रालयका सल्लाहकार डा. केशव बस्यालले पूर्व प्रस्थान अभिमुखीकरण तालीममा गन्तव्य मुलुक सम्बन्धी जानकारी, वैदेशिक रोजगार सम्बन्धी कानून, सुरक्षित रोजगारी तथा अन्य हक अधिकारका विषयमा जानकारी दिइनुपर्ने बताए । पूर्व प्रस्थान अभिमुखीकरण तालीम अहिले प्रभावकारी हुन नसकेको उनले औंल्याए । वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई गन्तव्य मुलुकसँग सम्बन्धित महत्त्वपूर्ण जानकारी, विद्यमान कानून, धर्म, संस्कृति, रीतिरिवाजका साथै केही समस्या परेमा कानूनी उपचारका लागि उपलब्ध सेवा तथा प्रक्रियाबारे जानकारी दिइनुपर्ने बताए । वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले पूर्व प्रस्थान अभिमुखीकरण तालीमको पाठ्यक्रम परिमार्जन गरी देशगत म्यानुअल तयार गरिएको बताए ।
अभिमुखीकरण प्रदान गर्ने संस्थाका प्रतिनिधिहरूले न्यून शुल्कमा गुणस्तरीय तालीम प्रदान गर्न कठिनाइ रहेको भन्दै आफूहरूको समस्या पनि सम्बोधन गरिनुपर्ने बताएका थिए । नेपाल सरकारबाट अनुमति प्राप्त अभिमुखीकरण तालीम प्रदायक संस्थाहरूबाट पूर्व प्रस्थान अभिमुखीकरण तालीम सञ्चालन हुँदै आएको छ ।