नुवाकोट,चैत २७ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ मरणघाट नवदुलही झैं सजिएको छ । स्थानीय नागरिकले नवनिर्मित मन्दिरमा बाजागाजाको तामझामसहित शिवको मूर्ति अनावरण गरिएसंगै मरणघाट नवदुलही झैँ सजिएको हो ।
स्थानीय सुमन भण्डारी, प्रकाश अधिकारी लगायत युवाहरुको अगुवाइमा स्वतस्फूर्त स्थानीय नागरिकद्वारा आइतबार नवनिर्मित मन्दिरमा शिवको मूर्ति अनावरण गरिएको हो।
यसअघि मरणघाटसम्म पुग्न बाटो निर्माणमा लागेका युवा समूहले बाटो मात्रै बनाएनन, उनीहरुले मरणघाट परिसरमा ब्रह्मनाल क्षेत्रको शुद्ध धारोपानी, मन्दिर, तुलसीको मष्ठ, चिता लगायत भौतिक निर्माण पक्ष सम्पन्न गरेका छन् ।
मृत्युवरण पश्चात् जीवन लिलाको समाप्तिमा आवश्यक मरणघाट निर्माणसंगै धार्मिक मेलाको समेत आयोजनामा युवाहरू जुटेका छन् । सो पुण्यभूमिमा मंगलबारदेखि भव्य सप्ताहको आयोजना गरिएको अगुवा युवामध्यका एक युवा सुमन भण्डारीले बताए । भण्डारीका अनुसार सप्ताहमा प्रख्यात वाचक जनार्दन पौडेलको मुखारवृन्दबाट पुराण सुन्न पाइनेछ । कलशयात्रा मंगलबार नै हुने युवाहरुले बताएका छन् ।