काठमाडौं,चैत २७ । सरकारी अनुदानको रासायनिक मल ल्याउने ठेक्का पाएका कम्पनीहरूले मल ल्याउन नसक्दा यसपालिको चैते बाली प्रभावित हुने देखिएको छ । कोरोना महामारीको प्रभाव र चीनको नयाँ निर्यात नीतिका कारण ठेक्का सम्झौताको म्याद सकिँदासम्म उनीहरूले मल आयात गर्न नसकेका हुन् ।
मल आयातका लागि चारओटा कम्पनीले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनसँग ठेक्का सम्झौता गरेका थिए । सिल्क मार्केट प्रालि, जेन ट्रेड, जेएस ट्रेड कम्पनी र इन्डियन पोटास लिमिटेडले कृषि सामग्री र साल्ट ट्रेडिङसँग मल ल्याउन सम्झौता गरेका थिए ।
उनीहरूले ठेक्का सम्झौताको म्याद सकिँदासम्म मल आयात गर्न सकेका छैनन् ।
कृषि सामग्री कम्पनीका सूचना अधिकारी अशोककुमार खड्का सम्झौता गरेका कम्पनीले मल ल्याउन सक्ने सम्भावना कम रहेको बताउँछन् । ‘यही अवस्था रहिरहे पछि पनि मल आउने सम्भावना न्यून छ,’ उनले भने, ‘त्यो भयो भने चैते धान र मकैलाई समस्या पर्न सक्छ ।’
ठेक्का लिएका कम्पनीले मल ल्याउन नसक्नुमा कोरोना महामारी र चीनको नयाँ निर्यात नीति भएको उनले बताए ।
खेतीपातीको सिजनमा रासायनिक मल नपाउने समस्या किसानले हरेक वर्ष झेल्दै आएका छन् । यस वर्ष पनि दोहोरिने संकेत देखिइसकेको छ ।
साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीका अनुसार इन्डियन पोटास लिमिटेडले २५ हजार मेट्रिक टन डीएपी र ७५ हजार टन युरिया आयातका लागि कर्पोरेशनसँग गत पुसमा ठेक्का सम्झौता गरेको थियो । यो भारतको सरकारी कम्पनी हो । म्याद सकिएको महीना दिन बित्दासम्म उसले २५ हजार टन डीएपी मात्र आयात गरेको छ । बाँकी ७५ हजार टन युरिया आयात हुने/नहुने अहिलेसम्म टुंगो लागेको छैन ।
कृषि सामग्रीसँग ठेक्का सम्झौता गरेका तीनओटा कम्पनीले पनि म्याद सकिएको महीना दिनसम्म मल आयात गर्न सकेका छैनन् । सिल्क मार्केट नामक नेपाली कम्पनीले कृषि सामग्रीसँग ६० हजार टन युरिया र ५ हजार टन डीएपी आयातका लागि सम्झौता गरेको थियो । सम्झौताको म्याद सकिइसकेको छ । त्यसैगरी, जेन ट्रेडले कृषि सामग्रीसँगै २५ हजार टन युरिया र ५ हजार टन डीएपी आयातका लागि २ छुट्टाछुट्टै सम्झौता गरेको थियो । अर्को कम्पनी जेएस ट्रेडले कृषि सामग्रीसँगै २५ हजार टन डीएपी आयातका लागि सम्झौता गरेको थियो । यी सबै ठेक्काको म्याद सकिएको छ । मल आउने छाँटकाँट छैन ।
कृषिका सूचना अधिकारी खड्काका अनुसार ठेक्का सम्झौताको म्याद सकिए पनि ती कम्पनीले मल ल्याउँदैनौं भनेका छैनन् । ढिलोचाँडो मल ल्याउँछन् भन्नेमा आफूहरू विश्वस्त रहेको उनले बताए । अहिले कृषि सामग्रीसँग ५ सय टन युरिया, २० हजार टन डीएपी र ७ हजार ५ सय टन पोटास मौज्दात छ । साल्ट ट्रेडिङसँग मौज्दात छैन ।
साल्ट ट्रेडिङका प्रवक्ता राजभण्डारीले विश्व बजारमा जारी उतारचढावका कारण आगामी दिनमा मल अभाव हुन सक्ने आकलन गर्दै मल उत्पादक देशहरूले होल्ड गर्दा ठेकेदार कम्पनीहरूले भनेको समयमा किन्न नपाएको हुन सक्ने बताए । विश्व बजारमा मलको मूल्य निरन्तर बढ्नाले पनि समस्या भएको हुन सक्ने उनको अनुमान छ । राजभण्डारीका अनुसार ठेकेदार कम्पनीहरूले ठेक्का सम्झौता गर्ने बेलामा प्रतिटन ४ सय ५५ अमेरिकी डलर रहेको रासायनिक मलको भाउ बढेर अहिले ११ सय डलर पुगेको छ । आर्थिक अभियानबाट