काठमाडौं,चैत २६ । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ ।
मुलुकलाई आर्थिक संकटबाट रोक्न पटक – पटक लिखित र मौखिक सुझाव दिंदै आएका अधिकारीलाई अर्थ मन्त्रालयले निलम्बनको पत्र थमाएर डेपुटी गभर्नर निलम ढुंगानालाई कामु जिम्मा दिएको छ ।
गत बिहीवारको मन्त्रिपरिषद्को बैठकले गभर्नर अधिकारीमाथि छानबिन गर्ने निर्णय गरि समिति पनि गठन गरेको छ ।
समितिलाई एक महीनाभित्र प्रतिवेदन बुझाउने गरी कार्यादेश दिइएको छ । प्रमाण नष्ट गर्न नपाउन भनेर निलम्बन गरि छानबिन गर्न लागिएको अर्थमन्त्रालय स्रोतले बताएको छ। छानबिन गर्दा दोषी नदेखिएमा अधिकारी नै गभर्नरमा पुनर्बहाली हुनेछन् । दोषी देखिएमा भने उनलाई राष्ट्र बैंक पुनः प्रवेशको बाटो बन्द हुनेछ ।
लगानी बोर्डमा प्रमुख कार्यकारी अधिकृत रहेका अधिकारीलाई पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेका थिए। कोभिडको समयमा अर्थतन्त्र उकास्न निजी क्षेत्र मैत्री नीति ल्याएको भन्दै उनको प्रशंसा भएको थियोे ।
तर नयाँ सरकार गठन भएपछि अर्थमन्त्री बनेका जनार्दन शर्मासँग अधिकारीको सम्बन्ध राम्रो नभएको कुरा बाहिर आएका थिए। तर एउटै कार्यक्रममा सँगै हुँदा पत्रकारले सम्बन्ध चिसिएको प्रश्न उठाउँँदा भने दुबै जनाले इन्कार गर्ने गरेका थिए।
शुक्रवार भएको एउटा सार्वजनिक कार्यक्रममा अर्थमन्त्रीले गभर्नरलाई ईंगित गर्दै राष्ट्र बैंकका जिम्मेवार व्यक्ति नै आन्तरिक सूचना मिडियामा दिन लागि परेको आरोप लगाएका थिए । उनले सञ्चालक समितिका व्यक्तिले त अमेरिकाबाट आएको संकास्पद ४० करोड रुपैयाँ छुटाउन ३ करोड रुपैयाँ मागेको गम्भीर आरोप लगाएका थिए।
अर्थमन्त्रीले देशको अर्थतन्त्र हल्ला भए जस्तो नराम्रो नभएको बताउँदा गभर्नर अधिकारीले भने देश श्रीलंकाकै बाटोमा गएको बताएका थिए ।