काठमाडौं,चैत २४ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी असारभित्र २ हजार ३०० मेगावाट विद्युत् उत्पादन हुने बताएका छन् ।
बुधवार ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले त्यतिबेला ४०० मेगावाट विद्युत् बढी हुने र उक्त विद्युत भारतमा विक्री गर्ने वातावरण बनेको बताएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा नेपालले भारतीय प्रतिस्पर्धी बजारमा थप ३२५ मेगावाट विद्युत् विक्री गर्न पाउने सहमति भएको थियो । यसअघि नेपालले ३९ मेगावाट विद्युत् निर्यातको अनुमति पाएको थियो ।
घिसिङले उद्योगी व्यवसायीहरुले भने जस्तो १४ घण्टा उद्योगहरुमा लोेडसेडिङ नभएको पनि दाबी गरे । तत्कालिन समयमा भारतबाट विद्युत् खरीद गर्न समस्या आएकाले कही कतै विद्युत कटौती भएकोबाहेक कुनै उद्योगमा नियमित लोडसेडिङ नगरिएको घिसिङको दाबी छ ।
ट्रान्सफर्मर वा प्रशारणलाइनका कारण विद्युत् कटौती गर्ने समयमा उद्योगलाई अग्रीम जानकारी दिएको पनि घिसिङले बताए ।
निर्देशक घिसिङले यो रुस र युक्रेन बीचको युद्धको कारण विद्युत् आपूर्तिमा देखिएको समस्याको प्रभाव मात्रै हो भन्ने कुरा उद्योगी व्यवसायीहरुले बुझ्नु पर्ने पनि बताए ।
उनले तीन महीना भारतबाट केही विद्युत् आयात गर्ने तर असारबाट भारतलाई ४०० मेगावट विद्युत् निर्यात गर्ने अवस्था रहेको बताए ।