भिरालो ठाउँको प्लटिङमा जग्गा किन्दै हुनुहुन्छ ? १० पटक सोच्नुस, यसरी भासिंदैछन् भिरालोका घर !


  • दिव्यदर्शन
  • बिहिबार, चैत्र २४ २०७८
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौं,चैत २४ । काठमाडौं उपत्यकामा जग्गाको भाउ यति धेरै बढेको छ की प्रतिआना २० लाख रुपैयाँ घटि जग्गा पाउनै मुस्किल छ ।

भिरालो ठाउँमा गरिएका प्लटिङमा भने प्रतिआना १४/१५ लाख रुपैयाँ आसपासमा पनि जग्गा किन्न सकिन्छ । तर त्यस्तो ठाउँमा जग्गा किनेर घर बनाउने हजारौ व्यक्तिहरू अहिले पछुताइरहेका छन् ।

सितापाइलास्थित पद्मा कोलोनीले भिरालो जमीनमा बनाएको एउटा घर भासिएको छ । करोडौ रुपैयाँ हालेर किनिएको घर भासिएपछि अहिले घरधनी के गरौ र कसो गरौ भन्ने अवस्थामा पुगेका छन् ।

घर भासिएर आधा भाग जमीन तल गएको छ । घरमा बस्नेहरूलाई एउटै घरमा ओहोर – दोहोर गर्दा पनि उकाली ओराली गरे जस्तो भइरहेको छ ।

केही समय अघि कीर्तिपुरमा पनि एउटा घर रातैभरमा डाडाबाट भासिएर ५० मिटर तल आएको थियो । घरमा मानिसहरू सुतीरहेकै अवस्थामा घर चिप्लिए पनि मानविय क्षति भने भएन ।

उपत्यकामा बनेका अन्य हाउजिङमा पनि बेला बेला घर भासिएका समाचारहरू आइरहन्छन् । तर ती घटनाले ठूलो रुप लिन नपाउँदै डेभलपर र घरधनीहरूबीच सहमति भइहाल्छ ।

तर काठमाडौं उपत्यका विकास प्राधिकरणबाट अनुमति नै नलिएका र नामै नसुनिएका व्यक्ति तथा संस्थाले गरेका प्लटिङमा यस्तो समस्या आउँदा उजुरी गर्ने ठाउँसमेत नेपालमा छैन । त्यसकारण यस्तो ठाउँमा घरजग्गा किनबेच गर्नुभन्दा अघि नै १० पटक सोचविचार गरेर मात्रै खरीद गर्नुपर्ने जानकारहरू बताउँछन् ।

उपत्यकाका अन्य ठाउँमा पनि यसरी डाडा र भिरालो ठाउँमा बनाएका दर्जनौ घर वर्षेनी भासीन्छन् । कतिपय मिडियामा आउँछन्, कतिपय आउँदैनन् । २/४ लाख रुपैयाँ सस्तो पाउने लोभमा यस्तो ठाउँमा जग्गा किन्न नहुने पिडितहरूको सुझाव छ ।

अहिले काठमाडौं उपत्यकामा गरिएका सयौ प्लटिङ यस्तै भिरालो ठाउँमा छन् । माथीपट्टी जमीन खारेको माटोले पुरिएका तलपट्टीका घडेरीहरू यस्तै जोखिममा रहेको जानकारहरू बताउँछन् ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले अनुमति नलिइ गरिएका यस्ता प्लटिङमा रोक लगाउन कित्ता नम्बर संकलन गरिरहेको छ । तर त्यो भन्दा अघिनै किनिसकेका घडेरीको हकमा के गर्ने भन्ने विषयमा अहिले पनि अन्यौल नै छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web