प्रधानमन्त्रीको भारत भ्रमण : पञ्चेश्वरलाई टुंगोमा पुर्‍याउने सहमति


  • दिव्यदर्शन
  • सोमबार, चैत्र २१ २०७८
  • पढ्न लाग्ने समय 2 मिनेट

काठमाडौं,चैत २१। पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) छिट्टै टुंगोमा पुर्‍याउन नेपाल र भारतका प्रधानमन्त्री सहमत भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको तीनदिने (शुक्रवार–आइतवार) भारत भ्रमणको क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई छिट्टै टुंगो लगाउने सहमति भएको हो ।

सोसम्बन्धी काम तथा द्विपक्षीय छलफललाई तीव्रता दिन सम्बन्धित अधिकारीहरूलाई निर्देशन समेत दिइएको छ । उक्त आयोजनाबाट दुवै देशका जनतालाई फाइदा हुने भएकाले यसलाई टुंगोमा पुर्‍याउन सहमति भएको शनिवार नेपाल र भारत सरकारले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विशेषगरी नेपालसहित भारतको गुजरातमा सिँचाइ सेवा पुर्‍याउने गरी  आयोजनाको निर्माण गरिने बताइएको छ । ६ हजार ४८० मेगावाट क्षमताको उक्त आयोजना बनाउन सके नेपालको अर्थतन्त्रमा कायापलट हुने जानकार बताउँछन् । भारतले पनि यसबाट उल्लेख्य लाभ पाउनेछ । यो आयोजना निर्माणको सम्बन्धमा दुवै देशबीच पटक पटक छलफल तथा विभिन्न सम्झौता समेत भएका छन् । तर, अझै पनि आयोजना बनाउने विषयमा ठोस प्रक्रिया अगाडि बढेको छैन । प्रधानमन्त्री देउवाको भ्रमणमा पञ्चेश्वर आयोजनालाई विशेष प्रस्तावको रूपमा अघि बढाइएको थियो । यस सम्बन्धमा दुई देशबीच कागजी सम्झौता भइनसके पनि आयोजना निर्माणको आवश्यक प्रक्रिया छिट्टै अघि बढाउन दुवै देशका सरकार तयार भएको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

ऊर्जाक्षेत्रमा नेपाल भारतले सहकार्य नै गर्नेगरी योसहित अन्य विभिन्न प्रारम्भिक सहमति पनि गरिएको छ । त्यसमा नेपालमा विद्युत् आयोजनाहरूको संयुक्त विकास, अन्तरदेशीय प्रसारण पूर्वाधारको विकास र ऊर्जा व्यापार लगायत क्षेत्रमा द्विपक्षीय सहयोग विस्तार गर्ने सहमति भएको छ । साथै दुवै देशको विद्युत् बजारमा उपयुक्त पहुँचसँगै राष्ट्रिय ग्रिडको समन्वयात्मक सञ्चालन, सूचनाप्रविधि र ज्ञानको आदानप्रदान गरिने सहमति भएको छ । यसैगरी सबै सहभागी पक्षहरूबीच पारस्परिक रूपमा शर्तहरूको अधीनमा बीबीआईएन फ्रेमवर्क अन्तर्गत आफ्ना साझेदार देशहरूलाई समावेश गर्न पनि दुवै देश सहमत भएका छन् । यस्तै नवीकरणीय ऊर्जा उत्पादन, जलविद्युत्लाई साझेदारीको आधारशिला बनाउन आ–आफ्नो राष्ट्रिय नीति बनाउने सहमति गरिएको छ ।

दुवै प्रधानमन्त्रीहरू संयुक्त भिजनको आधारमा परियोजनाहरू दु्रत गतिमा अगाडि बढाउन सहमत भएका छन् । उनीहरूले पारस्परिक सम्मान र समानताको आधारमा एकअर्काको राष्ट्रिय विकास र समृद्धिलाई निरन्तरता दिनेगरी सहमति गरेको बताइएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web