चालू आर्थिक वर्षमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएका उद्योग व्यवसायको संख्याले अर्थतन्त्रको आशाप्रद पक्षलाई उजागर गरेको छ । यो आवमा मात्रै ठूलासाना गरी १० हजारभन्दा बढी कम्पनी दर्ता भएका छन् । तीमार्फत करिब एक खर्ब ६० अर्ब लगानी गर्ने प्रस्तावना छ । अहिले साना लगानीका विद्यालय, परामर्श सेवा, होटल रेस्टुराँ, मर्मत केन्द्र, कम्प्युटर इन्स्टिच्यूट आदिमा उल्लेख्य वृद्धि भएको छ । गत आवको तुलनामा संख्यात्मक रूपमा केही कम भए पनि हाइड्रोपावर, बैंक, कन्स्ट्रक्सन कम्पनी तथा रियल इस्टेटजस्ता ठूला उद्योग व्यवसायसमेत दर्ता भएका छन् । यसबाट रजिष्ट्रार कार्यालयले औसतमा दैनिक रू. ४ लाखसम्म संकलन गरेको छ ।
निजी क्षेत्रले उद्योगव्यवसाय खोल्न देखाएको यो उत्साहले लगानीमैत्री असुरक्षा आदिजस्ता निराशाजनक अभिव्यक्तिहरूलाई समेत गलत साबित गरिदिएको छ । सरकारले केही समयअघि काठमाडौंका साथै ललितपुर र विराटनगरबाट समेत कम्पनी दर्ता गर्ने सुविधा उपलब्ध गराएको छ । यी तीनवटै कार्यालयमा गरेर दैनिक ३५ देखि ७० वटा कम्पनी दर्ता हुनु उत्साहजनक प्रवृत्ति हो ।
गत फागुन, चैत, वैशाखमा मात्र करिब अढाइ हजार कम्पनी दर्ता भएका छन् । कम्पनी रजिष्ट्रार कार्यालयको तथ्यांक अनुसार आव २०६६/६७ को वैशाख मसान्तसम्ममा देशभरमा ८१ हजार कम्पनी दर्ता भएको देखिएको छ । दर्ता भएका सबै कम्पनीहरू सञ्चालनमा आएका हुँदैनन्, तर आधा मात्र सुचारु हुनसके पनि नेपालजस्तो सानो मुलुकका लागि ठूलो उपलब्धि हुनेछ ।