बाढीमा ज्यान गुमाएका तीन परिवारलाई नेत्रावती डबजोङ गाउँपालिकाको सहयोग


  • दिव्यदर्शन
  • बुधबार, असोज ७ २०८३
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ । भाद्र १० मा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नेत्रावती डबजोङ गाउँपालिका–१ साप्टारीका तीन युवाका परिवारलाई गाउँपालिकाले आर्थिक सहयोग गरेको छ।

बाढीमा परी अकालमै ज्यान गुमाएका कपिल सिम्खडा, अनिल राना मगर र सचिम अधिकारीका परिवारलाई गाउँपालिकाले जनही रु. १ लाख १ हजार १११ का दरले आर्थिक सहयोग गरेको हो।

१३औँ पुण्य तिथिको अवसर पारेर गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीयको सहभागितामा दिवंगतका घरमै पुगेर श्रद्धाञ्जली व्यक्त गर्दै श्रद्धाञ्जली प्रमाणपत्रसहित नगद सहयोगको चेक हस्तान्तरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष सीता माया चोदेनले जानकारी दिनुभयो।

उपाध्यक्ष चोदेनले सामाजिक सञ्जालमार्फत शोकसन्तप्त परिवारसँग भेट्दा आफूहरूको मन अत्यन्तै भारी भएको उल्लेख गर्दै यस्तो अकल्पनीय विपत्तिले धेरै परिवारलाई पीडा दिएको बताउनुभएको छ। उहाँले दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ।

शोक कार्यक्रममा गाउँपालिकाका प्रवक्ता एवंम वडा नं. १ का वडाध्यक्ष ठाकुर गुरुङ लगायत जनप्रतिनिधि, स्थानीयवासी तथा सरोकारवालाको सहभागिता रहेको थियो।

विपत्तिको समयमा स्थानीय सरकार पीडित परिवारको दुःखमा साथमा रहेको सन्देश दिँदै गाउँपालिकाले गरेको यो सहयोगले शोकमा रहेका परिवारलाई केही राहत र हौसला प्रदान गर्ने विश्वास गरिएको छ।

बाढीमा ज्यान गुमाएका तीनै युवाप्रति गाउँपालिकाले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको योगदान र सम्झना सधैँ जीवित रहने जनाएको छ। साथै, दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारलाई यस कठिन घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web