काठमाडौं इन्फिल्डर्स क्लबद्वारा पत्रकार अशोक श्रेष्ठ सम्मानित
दिव्यदर्शन
बिहिबार, कार्तिक २८ २०८२
पढ्न लाग्ने समय < 1मिनेट
काठमाडौं, — बुलेट मोटरसाइकल राइडर्सहरूको समूह काठमाडौं इन्फिल्डर्स क्लबले धादिङका पत्रकार अशोक श्रेष्ठलाई सम्मानित गरेको छ।
धादिङका विविध पर्यटकीय क्षेत्रहरूको प्रवद्र्धन गर्ने उद्देश्यले क्लबले कार्तिक दोस्रो साता आयोजना गरेको प्रवद्र्धनात्मक यात्राको क्रममा प्रचार–प्रसार, समन्वय तथा सहकार्य गरेर सहयोग पु-याएको योगदानस्वरूप पत्रकार श्रेष्ठलाई कदरपत्रद्वारा सम्मान गरिएको हो।
क्लबले काठमाडौंको सतुङ्गलस्थित चिया हबमा आयोजना गरेको एक विशेष कार्यक्रममा श्रेष्ठसहित टुर सफल बनाउन सहयोग गर्ने व्यक्तित्व र संस्थाहरूलाई पनि सम्मान गरेको थियो।
तिहारलगत्तै सम्पन्न यात्रामा क्लबका सदस्यहरूले धादिङको प्रसिद्ध भैरवी मन्दिर र त्यस परिसरका विभिन्न पर्यटकीय स्थलहरूको भ्रमण गर्दै प्रवद्र्धनात्मक गतिविधि सञ्चालन गरेका थिए। सो अवसरमा क्लबले भैरवी माध्यमिक विद्यालयका ७० जना विद्यार्थीहरूलाई विद्यालय झोला र स्टेशनरी सामग्री पनि वितरण गरेको थियो।
कार्यक्रमपछि सम्मानित पत्रकार श्रेष्ठले धादिङको पर्यटन प्रवद्र्धनमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले भने,
“म मध्य धादिङको मान्छे हुँ। दक्षिणी धादिङको ब्रोम्दिङदेखि उत्तरी रुबीभ्यालीसम्मका पर्यटकीय क्षेत्रहरूको प्रवद्र्धनमा योगदान पुर्याउने चाहना मेरो छ।”
अनलाइन न्यूज पोर्टल साँचोखबर एचडीका सञ्चालक समेत रहेका श्रेष्ठ पछिल्ला वर्षहरूमा धादिङमा सक्रिय पत्रकारिता गर्दै आएका छन्। उनका अनुसार साँचोखबर एचडीले श्रव्य–दृश्य समाचार (भिडियो न्यूज) मार्फत स्थानीय घटना तथा गतिविधिहरूलाई तीव्र रूपमा प्रस्तुत गर्दै लोकप्रियता हासिल गरेको छ।
श्रेष्ठ निलकण्ठ नगरपालिका–४ का स्थायी बासिन्दा हुन् र आगामी दिनमा पनि धादिङको पर्यटन विकासमा पत्रकारितामार्फत योगदान पुर्याउने योजनामा छन्।