धादिङ,
गजुरी गाउँपालिका वडा नं. १ र ५ लाई जोड्ने मोटरेबल पुल निर्माण कार्य एक विशेष समारोहबीच औपचारिक रूपमा सुरु गरिएको छ। बागमती प्रदेश सरकारका पूर्व मुख्यमन्त्री माननीय शालिकराम जम्कटेलको पहलमा विनियोजित बजेटबाट सो पुलको निर्माण कार्य अघि बढाइएको हो।
करिब रु. २ करोड २० लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त मोटरेबल पुल अनकन्या–भूमिका–निलकण्ठ कन्स्ट्रक्सन जे.भी. द्वारा निर्माण हुँदैछ। एप्रो सहित पुलको कुल लम्बाइ २१ मिटर रहेको छ।
शिलान्यास कार्यक्रममा पूर्व मुख्यमन्त्री शालिकराम जम्कटेल, गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, उपाध्यक्ष शर्मिला बिशुराल, वडा अध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा पूर्व मुख्यमन्त्री जम्कटेलले पुल निर्माणले गाउँपालिकाभित्रको आवागमन, आर्थिक क्रियाकलाप र जनजीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले गजुरी गाउँपालिकाको विकास यात्रामा यो परियोजनाले महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँले प्रदेश सरकारप्रति आभार व्यक्त गर्दै समयमै, गुणस्तरीय र दिगो निर्माणका लागि सबै पक्ष एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो।
शिलान्यास समारोहमा सहभागी स्थानीयवासीहरूले पुल निर्माण कार्यले दैनिक जीवन सहज हुने र गाउँको विकासमा नयाँ सम्भावना सिर्जना हुने विश्वास व्यक्त गरे।यस पुल निर्माणले गजुरी गाउँपालिका १ र ५ बीचको आवागमनमा सहजता ल्याउने मात्र नभई कृषि, व्यापार र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
