काठमाडौं । मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–९ तिलिचो तालको बेस क्याम्पमा हिमपातका कारण अलपत्र परेका ११ जना आन्तरिक पर्यटकलाई सशस्त्र प्रहरी बलले सफलतापूर्वक उद्धार गरेको छ।
सशस्त्र प्रहरीका अनुसार आज बिहान करिब ६ बजे उद्धार कार्य सम्पन्न गरिएको हो। हिमपातका कारण बेस क्याम्प क्षेत्रमा दुई जना चिनियाँ नागरिक र १३ जना नेपाली गरी १५ जना पर्यटक फसेका खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय, मनाङबाट उद्धार टोली खटाइएको थियो।
उद्धार टोली सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त फौज र मेडिकल टोलीसहित पठाइएको थियो। खोज तथा उद्धारका क्रममा दुई चिनियाँ नागरिक र ११ नेपाली गरी १३ जना मात्रै फेला परेका सशस्त्र प्रहरीले जनाएको छ।
उद्धार गरिएका मध्ये एक जना महिला बिरामी अवस्थामा भेटिएकी छन् भने एक पुरुषको खुट्टामा चोट लागेको छ। सबै जनामा अक्सिजन स्तर सामान्यभन्दा कम रहेको पाइएको सशस्त्र प्रहरीले जनाएको छ।
पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट पैदल गएको टोलीले उद्धार गरिएका ११ नेपालीलाई सुरक्षित रूपमा चामेतर्फ ल्याएको छ। मौसम केही खुलेपछि ती दुई चिनियाँ नागरिक भने आफ्नो भ्रमण पूरा गर्ने उद्देश्यले बेस क्याम्पमै बसेका छन्।
