धादिङ — त्रिपुरासुन्दरी गाउँपालिका सल्यानटारका सात जना अपाङ्गता भएका व्यक्तिहरूलाई रिचार्जेबल ह्विलचियर वितरण गरिएको छ। उक्त सामाजिक कार्य गाउँपालिका अध्यक्ष राजु उप्रेतीको पहलमा तथा धादिङ नेपाली समाज अमेरिका अध्यक्ष एवं समाजसेवी टक बहादुर रुवालीको समन्वयमा सम्पन्न भएको हो।

कार्यक्रममा गाउँपालिकामा रहेका शारीरिक अपाङ्गता भएका नागरिकहरूलाई सहज रूपमा आवागमन गर्न सहयोग पुर्याउने उद्देश्यले अत्याधुनिक रिचार्जेबल ह्विलचियर हस्तान्तरण गरिएको हो। यस पहलले गाउँका अपाङ्गता भएका व्यक्तिहरूको दैनिकीमा ठुलो सहजता ल्याउने विश्वास लिइएको छ।
कार्यक्रम अन्तर्राष्ट्रिय धादिङ समाज, धादिङ नेपाली समाज अमेरिका, नेपाली जनसम्पर्क समिति विश्व सञ्जाल अमेरिका तथा विभिन्न सहयोगी व्यक्तिहरूको आर्थिक र संस्थागत सहयोगमा सम्पन्न भएको थियो। समाजसेवी रुवालीले विदेशमा रहेर पनि आफ्नो जन्मभूमिप्रतिको उत्तरदायित्व र माया देखाउँदै सामाजिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएका छन्।
त्यसै अवसरमा, जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा चौथो स्थान हासिल गर्न सफल सुन्दरी माध्यमिक विद्यालयकी छात्रा सन्ध्या बी.क. लाई सम्मान गरिएको थियो। सम्मानले स्थानीय विद्यार्थीहरूमा उत्साह र प्रेरणा थप्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष उप्रेतीले यस्तो सामाजिक सहयोगले समुदायमा सकारात्मक ऊर्जा र सहकार्यको भावना फैलाउने बताउँदै, “अपाङ्गता भएका नागरिकहरूलाई राज्य र समाजले आत्मसम्मानपूर्वक जीवनयापन गर्न सहयोग गर्नुपर्छ,” भन्ने धारणा राखे।

समाजसेवी रुवालीले धादिङका अपाङ्गता भएका नागरिकहरूलाई थप सहयोगका कार्यक्रम ल्याइने जानकारी दिँदै, सबै सहयोगी हातहरूलाई धन्यवाद ज्ञापन गरेका थिए।
