वर्षापछि अवरुद्ध मेची राजमार्ग पुनः सञ्चालनमा, यातायात सहज


  • दिव्यदर्शन
  • आइतबार, कार्तिक ३ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौँ, गएको असोज १८ गतेको अविरल वर्षापछि पहिरोले अवरुद्ध बनेको मेची राजमार्ग सञ्चालनमा आएको छ। इलाम नगरपालिका–९ अन्तर्गत इलाम–राजदुवाली सडकखण्डमा मर्मत सम्पन्न भएसँगै उक्त खण्ड गएरातिदेखि पुनः सञ्चालनमा आएको हो।

इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार, राजमार्गमा सवारी साधन चल्न थालेका छन्। सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले सडक मर्मतका लागि डिभिजन कार्यालय, स्थानीयबासिन्दा तथा सुरक्षाकर्मीको निरन्तर दुई साताको संयुक्त प्रयास सफल भएको जानकारी दिनुभयो।डिभिजन प्रमुख भट्टराईले पहिरो प्रभावित क्षेत्रमा ठूला गाडीहरू एकपटकमा एउटामात्र सञ्चालन हुने गरी सहयोग गर्न आग्रह गर्नुभएको छ, ताकि सडक पुनः क्षति नहोस्।

मेची राजमार्ग सञ्चालनमा आएपछि इलाम, पाँचथर र ताप्लेजुङबाट झापा तथा झापाबाट ती जिल्लातर्फ जाने यात्रु तथा सवारीसाधनका लागि ठूलो राहत मिलेको छ। पहिरोका कारण लामो समयदेखि दैनिक यात्रु तथा मालवाहन गाडीहरू समस्यामा परेका थिए।यसअघि साना गाडीहरूका लागि वैकल्पिक मार्गको रूपमा बुधबारे–तिल्केनी–सिमलगोला सडक सञ्चालनमा ल्याइएको थियो।यसैबीच, मेची कोरिडोर (केचना–कञ्चनजङ्घा सडक) भने अझै सञ्चालनमा आउन सकेको छैन। पुवाखोलाको बेलिब्रिज बाढीले बगाएको र बेलासेमा माईखोलाको पक्की पुल भाँचिएको कारण उक्त क्षेत्रको सडक पूर्ण रूपमा अवरुद्ध छ। यसले खासगरी सीमावर्ती क्षेत्र हुँदै सञ्चालन हुने आवागमनलाई असर पुर्‍याएको छ।संबन्धित निकायहरूले मेची कोरिडोर खुलाउन आवश्यक मर्मत तथा पुनर्निर्माण कार्य अघि बढाइरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web