पाँच वर्षसम्म पटक–पटक म्याद थप्दा पनि सडक निर्माण सम्पन्न नगरेपछि पर्वतको महाशिला गाउँपालिकामा निर्माणाधीन लुंखुदेउराली–मिलनचोक–बालाकोट–होश्राङदी सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको जमानत जफत गरिएको छ।
गण्डकी प्रदेश सरकारको रणनीतिक सडक योजना अन्तर्गतको यो सडक निर्माणको ठेक्का पाएको पीआर/ओमबुद्ध जेभी, बसुन्धरा काठमाडौंको मोबिलाइजेशन पेस्की वापतको बैंक जमानत पूर्वाधार विकास कार्यालय पर्वतले जफत गरी असुल गरेको हो।
२०७८ साल जेठ १८ गते सम्झौता गरिएको सडक निर्माण कार्य १८ महिनाभित्र सम्पन्न गर्ने शर्त थियो। तर तोकिएको २०७९ फागुन १७ भित्र काम नसकिएपछि पटक–पटक म्याद थपेर २०८१ चैत २९ गतेसम्म समय दिइएको थियो। तर, कम्पनी काममा फर्किन नआएपछि बाध्य भएर जमानत जफत गरिएको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले जानकारी दिनुभयो।
कुल लागत ११ करोड २२ लाख ६६ हजार रुपैयाँ रहेको झन्डै ६ किलोमिटर लामो सडकको निर्धारित अवधिसम्म जम्मा ३५ प्रतिशत मात्र भौतिक तथा वित्तीय प्रगति भएको थियो।
महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालका अनुसार निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि सडक झनै अस्तव्यस्त बनेको छ। निर्माण शुरू गरेर चार करोड १३ लाख रुपैयाँ भुक्तानी लगिसकेको ठेकेदारविरुद्ध स्थानीयबासीले कडा कारबाहीको माग गर्दै आएका छन्।
अब ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको बताइएको छ।
