कात्तिक स्नान र तुलसी पूजा आरम्भ, आकाशदीप दान सुरु-दशैँ सम्पन्न


  • दिव्यदर्शन
  • मंगलबार, असोज २१ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाण्डौ, असोज २१ — हिन्दू धर्मावलम्बीहरूका लागि विशेष धार्मिक महत्व राख्ने कात्तिक स्नान, तुलसी पूजा तथा आकाशदीप दान आजदेखि विधिपूर्वक सुरु भएको छ। असोज शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म चल्ने यस धार्मिक अनुष्ठानलाई श्रद्धा र भक्ति भावका साथ मनाइने गरिन्छ।

धार्मिक मान्यताअनुसार, यस अवधिमा कात्तिक स्नान गर्नाले पुण्य प्राप्ति हुन्छ भने तुलसीको विशेष पूजा र आकाशदीप दान गर्नाले सौभाग्य, समृद्धि र श्रेयको प्राप्ति हुने विश्वास गरिन्छ। आकाशदीप दानको क्रममा बाँस, नपाएमा पलाँस, खएर वा पीपल जस्ता काठका लिङ्गो ठड्याएर तिनमा दीप बाल्ने परम्परा रहेको छ।

यसैबीच, बडादशैँ पर्व पनि विधिवत रूपमा सम्पन्न भएको छ। दुर्गा पक्षको अन्तिम दिन, अर्थात् हिजो परेको असोज शुक्ल पूर्णिमाको राति, लक्ष्मीपूजासहित जाग्राम बसेर देवी महालक्ष्मीको आराधना गरिँदै दशैँ समापन गरिएको हो। धन, धान्य र सम्पन्नताकी देवी महालक्ष्मीको विशेष पूजाअर्चना यस दिन मध्यरातमा गरिन्छ।

यद्यपि पूर्णिमा तिथि चन्द्रमासँग सम्बन्धित भएकाले यसको व्रत सूर्योदय र सायंकाल दुवैमा पूर्णिमा पर्ने दिनमा मात्र मान्य हुन्छ, त्यसैले महालक्ष्मीको व्रत आज गरिँदैछ।

यसरी, एकातर्फ दशैँको समापन भएको छ भने अर्कातर्फ कात्तिक महिनाभरि चल्ने स्नान, व्रत र पूजाहरूको सुरु पनि भइसकेको छ। धार्मिक मान्यताअनुसार, यो समय अध्यात्म, साधना र शुद्धिको प्रतीक मानिन्छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web