असोज १९ – सप्तरीको सप्तकोशी नगरपालिका–६ स्थित बोचही बस्तीका ६० घरपरिवार त्रियुगा नदीको बाढीका कारण डुबानमा परेका छन्। लगातार दुई दिनदेखि परेको अविरल वर्षापछि त्रियुगा नदीमा आएको बाढी तटबन्धमाथि बग्दै बस्तीमा पसेको हो।
बाढीका कारण डुबानमा परेकामध्ये अति प्रभावित छ घरपरिवारलाई उद्धार गरी स्थानीय राष्ट्रिय आधारभूत विद्यालयमा सुरक्षित रूपमा स्थानान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) टुवराज पोखरेलका अनुसार, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको विपद् व्यवस्थापन टोलीले उद्धार कार्य सञ्चालन गरेका छन्। उहाँले जिल्लामा परेको वर्षाले अन्य क्षेत्रहरूमा पनि क्षति पुर्याएको हुन सक्ने भन्दै वस्तुस्थिति बुझ्न सुरक्षाकर्मीका दुईवटा छुट्टाछुट्टै टोली खटाइएको जानकारी दिनुभयो।
बाढीले अन्य क्षतिको विवरण संकलन कार्य जारी रहेको र अवस्था अनुसार थप राहत तथा उद्धार कार्य सञ्चालन गरिने प्रजिअ पोखरेलले बताएका छन्।
