धादिङ /आज बिहानैदेखि धादिङसहित देशका अधिकांश भागमा लगातार वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने पूर्वानुमान गरेको छ।
महाशाखाका बाढीविद् विनोद पराजुलीका अनुसार आज दिउँसोदेखि नै प्रमुख नदीहरूमा बहाव बढ्न सुरु हुने छ। यससँगै केही क्षेत्रमा आकस्मिक बाढीको जोखिमसमेत देखिएको छ।
धादिङ, गोरखा, लम्जुङ, तनहुँ, नवलपरासी पूर्व र पश्चिम, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौँ, भक्तपुर, ललितपुर), काभ्रे र सिन्धुली जिल्लाका साना नदी तथा खोलानालामा आज राति आकस्मिक बाढीको सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ।
बिहीबार बिहानदेखि बेलुका सम्मको अवधिमा नारायणी, कालीगण्डकी, सेती, मादी, मर्स्याङ्दी, दरौँदी, त्रिशूली, पूर्वी राप्ती, बागमती, कमला लगायतका नदीहरू र तिनका शाखा नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने र सतर्कता तहसम्म पुग्न सक्ने सम्भावना रहेको पराजुलीले जानकारी दिनुभयो।
भोलि रातिदेखि मौसम प्रणाली बिस्तारै पूर्वतर्फ सर्ने पूर्वानुमान गरिएको छ। यस क्रममा कोशी, कन्काई लगायत पूर्वी नदी जलाधार क्षेत्रमा समेत बहाव उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना रहेको छ।
महाशाखाले सबैलाई सतर्क रहन, नदी किनारका क्षेत्रबाट टाढा बस्न र आधिकारिक सूचनाको पालना गर्न अनुरोध गरेको छ।
