नेपाली सेना सवार ट्रक दुर्घटना, १६ जना घाइते, ३ जनाको अवस्था गम्भीर


  • दिव्यदर्शन
  • मंगलबार, भाद्र ३१ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

हेटौँडा,नेपाली सेना सवार ट्रक दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभएको छ।दुर्घटना मंगलबार दिउँसो मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ र बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२२ को सिमानामा पर्ने चुरियामाईस्थित पूर्व–पश्चिम लोकमार्ग खण्डमा भएको हो।

दुर्घटनाग्रस्त ट्रक तनहुँस्थित नेपाली सेनाको नं. २ राजदल गणबाट धनुषातर्फ गइरहेको चार वटा सेनाका ट्रकमध्ये एक हो। उपसेनानी हर्ष विक्रम अधिकारीको कमान्डमा गइरहेको ट्रक (लु. १ ग. २८० नम्बर) सडकको पुलबाट अन्दाजी १२ फिट तल खोल्सामा खसेको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार ट्रकमा २२ जना सेना सवार थिए। ट्रक दुर्घटनामा परेको जानकारी पाउँने बित्तिकै मकवानपुर र बाराबाट विभिन्न प्रहरी टोली परिचालन गरिएको थियो।

उद्धार कार्यमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालको नेतृत्वमा प्रहरीको २५ जनाको टोली, जिल्ला ट्राफिक कार्यालय र इलाका प्रहरी कार्यालय पशुपतिनगर तथा रातोमाटे प्रहरी चौकीका प्रहरीहरू सक्रिय थिए। साथै, बाराको अम्लेखगन्ज इलाका प्रहरी कार्यालयका नायब निरीक्षक धन बहादुर श्रेष्ठको कमान्डमा सात जनाको टोली पनि घटनास्थलमा खटिएको थियो।घाइतेहरूलाई नेपाली सेनाको सहयोगमा उद्धार गरी हेटौँडा अस्पताल, मकवानपुरमा उपचारका लागि पठाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web