धादिङ, भदौ १४ — बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको स्मरण गर्दै धादिङमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) समक्ष ज्ञापनपत्र बुझाइएको छ। मानव अधिकारका सवालमा क्रियाशील संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सहितका प्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालय धादिङमा ज्ञापनपत्र बुझाएका हुन्।
प्रत्येक वर्ष अगष्ट ३० का दिन मनाइने अन्तर्राष्ट्रिय बेपत्ता पारिएका व्यक्तिको स्मरण दिवसको अवसरमा बुझाइएको सो ज्ञापनपत्रमा द्वन्द्वकालमा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था यथाशीघ्र सार्वजनिक गर्न, दोषीलाई कारबाही गर्न र पीडित परिवारलाई क्षतिपूर्ति तथा न्याय सुनिश्चित गर्न माग गरिएको छ।
ज्ञापनपत्रमा २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौता अनुसार ६० दिनभित्र बेपत्ता पारिएको अवस्था सार्वजनिक गरिनुपर्ने उल्लेख भए तापनि अहिलेसम्म सो कार्य नभएकोप्रति गम्भीर आपत्ति जनाइएको छ।
इन्सेकका धादिङ प्रतिनिधि सीताराम अधिकारीले बताए अनुसार:
“बेपत्ता पारिएका व्यक्तिको अवस्था नखुल्नु पीडित परिवारको सांस्कृतिक, मानव अधिकार र न्यायप्रतिको पहुँचमाथिको उल्लंघन हो। सरकारले राष्ट्रिय मानव अधिकार आयोगले गरेका २२६ सिफारिस तुरुन्त कार्यान्वयन गर्नुपर्छ।”
साथै, २०८२ वैशाख ३१ मा पुनर्गठित बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले आवश्यक स्रोतसाधनको अभावमा प्रभावकारी रूपमा काम गर्न नसकेको जनाउँदै, आयोगलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ।
ज्ञापनपत्रमार्फत नेपाल सरकार, मानव अधिकार आयोग, तथा अन्य सम्बद्ध निकायहरूलाई बेपत्ता पारिएका व्यक्तिको सत्य तथ्य सार्वजनिक गर्न, दोषीलाई कानुनी कारबाही गर्न र पीडितलाई न्याय तथा परिपूरण सुनिश्चित गर्न आग्रह गरिएको छ।
