शिक्षा विधेयक संशोधनको मागमा धादिङमा शिक्षकहरूको धर्ना-Divya Darshan TV


  • दिव्यदर्शन
  • आइतबार, भाद्र १५ २०८२
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ, भदौ १५ — विद्यालय शिक्षा विधेयक संशोधनको माग गर्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आह्वानमा धादिङमा शिक्षकहरूले धर्ना दिएका छन्। नेपाल शिक्षक महासंघ धादिङ जिल्ला समितिको व्यवस्थापन तथा सञ्चालनमा आइतबार बिहान शिक्षकहरूले शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय धादिङको परिसरमा धर्ना दिएका हुन्।

दोस्रो चरणको आन्दोलन कार्यक्रमअन्तर्गत भएको उक्त धर्नामा सहभागी शिक्षकहरूले शिक्षा क्षेत्रमा विगतदेखि भइरहेका समस्याहरू समाधानका लागि सरकारले चासो नदिएको आरोप लगाएका छन्।

नेपाल शिक्षक महासंघ धादिङका अध्यक्ष ठान प्रसाद बसौलाले सरकारसँग पटक–पटक माग प्रस्तुत गर्दा पनि बेवास्ता भएकाले आन्दोलनको दोस्रो चरणमा धर्ना दिनुपरेको बताउनुभयो।

शिक्षकहरूले अगाडि सारेका प्रमुख मागहरूमा विद्यालयमा दुई दशकदेखि कार्यरत राहत र साविक उच्च माध्यमिक तहका शिक्षकहरूलाई अस्थायी शिक्षक सरह आन्तरिक तथा खुला प्रतिस्पर्धाबाट शिक्षक सेवा आयोगमार्फत स्थायी गरिनुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गरिनुपर्ने, प्रारम्भिक बाल विकास तहमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीहरूको दरबन्दी सुनिश्चित गरिनुका साथै उनीहरूको पारिश्रमिकमा सुधार गरिनुपर्ने लगायत रहेका छन्।महासंघले माग पुरा नभए अझ सशक्त आन्दोलनका कार्यक्रमहरू अघि बढाउने चेतावनी दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web