सिद्धलेक–१ मा सडक सरसफाई अभियानले पायो गति, सहभागिता बढ्दै


  • दिव्यदर्शन
  • शुक्रबार, भाद्र १३ २०८२
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ, — सिद्धलेक गाउँपालिका वडा नं. १ मा वडास्तरीय समन्वय र स्थानीयको सक्रिय सहभागितामा सडक सरसफाई अभियान सशक्त बन्दै गएको छ। वडाको आयोजनामा सञ्चालन हुँदै आएको साप्ताहिक श्रमदान अभियानअन्तर्गत, शुक्रबार विभिन्न सार्वजनिक सडकखण्डहरु सफा गरिएका छन्।

यस पटकको श्रमदान अन्तर्गत डुम्रे खोला प्रतिक्षालय चोकदेखि वडा कार्यालयसम्मको सडक, जलेश्वरी आधारभूत विद्यालय–वाजगरा–डाँडागाउँ खण्ड तथा चक्रपथ अन्तर्गत ठुलो खोला–पाउनेटार–कुमालटार–बेलटार सडक सरसफाई गरिएको वडा अध्यक्ष पेमा वाङ्ग्याल लामाले जानकारी दिनुभयो।श्रमदान कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जमकट्टेल, जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङ, साथै माओवादी केन्द्र सिद्धलेक गाउँपालिका कमिटीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वडा नं. १ का स्थानीय बासिन्दा, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, नागरिक समाज, आमा समूह, युवा क्लब, टोल विकास समिति र स्वास्थ्य स्वयंसेविकाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।वडा अध्यक्ष लामाका अनुसार श्रमदान अभियान हरेक शुक्रबार नियमित रूपमा सञ्चालन हुँदै आएको छ र यो पाँचौं पटकको कार्यक्रम हो। उहाँले अभियानमार्फत वडा भित्रको सरसफाई मात्र नभई सामाजिक एकता, सहकार्य र स्थानीय स्वामित्वको भावना समेत मजबुत हुँदै गएको बताउनुभयो।सिद्धलेक–१ को यो निरन्तर सरसफाई अभियानले वडालाई व्यवस्थित, सफा र सहकार्यमा आधारित नमूना वडाको रूपमा विकास गर्ने सम्भावनालाई थप बल पुर्‍याएको छ। सामूहिक प्रयास र नेतृत्वद्वारा प्रेरित यस्ता अभियानले अन्य वडाहरूका लागि पनि प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web