नीलकण्ठ नगर खानेपानी तथा सरसफाई बोर्डको अध्यक्षमा शिव प्रसाद अधिकारी,“तिर्खामुक्त शहर” बनाउने प्रतिबद्धता
धादिङ,
धादिङको नीलकण्ठ नगरपालिकामा नीलकण्ठ नगर खानेपानी तथा सरसफाई बोर्डको नयाँ अध्यक्षमा शिव प्रसाद अधिकारी नियुक्त भएका छन्। सोमबार सम्पन्न एक विशेष कार्यक्रममा नगर प्रमुख भीम प्रसाद ढुंगानाले नव–नियुक्त अध्यक्ष अधिकारी सहित सम्पूर्ण पदाधिकारीहरुलाई पद तथा गोपनियताको शपथ गराएका हुन्।
बोर्डमा कार्यपालिका निर्णय अनुसार विभिन्न वडाबाट प्रतिनिधित्व गरिएको छ। सदस्यहरूमा वडा नं. ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ, वडा नं. ८ का अध्यक्ष एवं प्रवक्ता प्रकाश कुमार श्रेष्ठ, वडा नं. १२ का अध्यक्ष धर्मराज भण्डारी (राजकुमार), र वडा नं. १४ का अध्यक्ष नवराज दुवाडी रहेका छन्।
त्यसैगरी, अन्य सदस्यहरूमा भगवती उप्रेती, कृष्ण प्रसाद कोइराला, मन्जु मगर, दयाराम लम्साल, राजाराम रिजाल छन् भने बोर्डको निर्देशक पदमा शिव राना रहेका छन्।
मनोनित सदस्यका रूपमा विज्ञ सदस्य डा. कृष्णमान शाक्य, महिला सदस्य कोपिला खान ठकुरी, नमिता थापा अधिकारी तथा सदस्य राजकुमार श्रेष्ठ नियुक्त भएका छन्।
शपथपछि बोल्दै बोर्ड अध्यक्ष शिव प्रसाद अधिकारीले नीलकण्ठ नगरपालिकालाई “तिर्खामुक्त शहर” बनाउने परिकल्पनालाई साकार पार्ने प्रतिबद्धता जनाए। उनले खानेपानी तथा सरसफाई सेवा सुदृढ गर्दै नगरवासीको जीवनस्तर उकास्ने दिशामा अग्रसर हुने बताए।
कार्यक्रममा नगर प्रमुख भीम प्रसाद ढुंगानाले नीलकण्ठ नगरको समृद्धि र दिगो विकासको आधारस्वरूप खानेपानी र सरसफाईलाई प्राथमिकतामा राखी काम गर्न पदाधिकारीहरूलाई आग्रह गरे।
सोही अवसरमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारीलाई नगरपालिकाले सम्मान गरेको थियो। मन्त्री अधिकारीलाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो। सम्मानपश्चात सम्बोधन गर्दै मन्त्री अधिकारीले जनताको पक्षमा निष्ठा र प्रतिबद्धताका साथ राजनीति गर्ने बताए।
कार्यक्रममा विभिन्न स्थानीय जनप्रतिनिधि, कर्मचारी, नागरिक समाजका प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो।
