नेत्रावती डबजोङ गाउँपालिकामा तीज गीत प्रतियोगिता सम्पन्न, महिला सशक्तिकरणमा जोड


  • दिव्यदर्शन
  • सोमबार, भाद्र २ २०८२
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ, साउन ३२ –
धादिङको नेत्रावती डबजोङ गाउँपालिकाले हरितालिका तीज २०८२ को अवसरमा आयोजना गरेको गाउँपालिका स्तरीय तीज गीत प्रतियोगिता तथा शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

महिला सशक्तिकरण, सांस्कृतिक पहिचानको संरक्षण र आपसी सद्भावको प्रवर्द्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो। “महिला पनि सक्षम छन्” भन्ने शिर्षक प्रतियोगितामा विभिन्न वडाका आठ महिला समूहहरूले मौलिक तीज गीत तथा नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा सहभागी महिलाहरूले यस्ता महिला लक्षित सिर्जनात्मक कार्यक्रमले उनीहरूको आत्मविश्वास अभिवृद्धि गरेको बताउँदै, गाउँपालिकाप्रतिको आभार व्यक्त गरेका थिए।कार्यक्रममा आफ्ना शुभकामना मन्तव्य राख्दै गाउँपालिकाका जनप्रतिनिधिहरूले संस्कृति प्रवर्द्धनसँगै महिलाको आत्मविकास र सशक्तिकरणलाई प्राथमिकता दिँदै आगामी दिनहरूमा अझ समावेशी र सिर्जनात्मक कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रस्तुतिहरूको मूल्याङ्कन निर्णायक टोलीले गरेको थियो। मूल्याङ्कनका आधारमा उत्कृष्ट चार समूहलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारस्वरूप नगद राशिसहित सम्मानपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेराम शाहले कार्यक्रममा बोल्दै, यस्ता सांस्कृतिक कार्यक्रमहरूले चाडपर्वहरूलाई सभ्य र मर्यादित रूपमा मनाउने वातावरण सिर्जना गर्ने बताए।

नेत्रावती डबजोङ गाउँपालिकाको यस पहलले महिलाको सिर्जनशीलता, सांस्कृतिक विविधता र सामाजिक एकतालाई एकै थलोमा ल्याउने प्रयास गरेको देखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web