धादिङबेसी — शारीरिक, मानसिक र आत्मिक विकासमा सहायक योग अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले धादिङबेसीमा १५० भन्दा बढी विद्यार्थीलाई लक्षित गर्दै योगसम्बन्धि प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ। धादिङ जिल्ला योग खेलकुद संघको आयोजनामा सुरु भएको उक्त कार्यक्रम २९ गतेसम्म सञ्चालन हुने संघका अध्यक्ष गोबिन्द कुमार श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार, “आजको तनावपूर्ण जीवनशैलीमा योगले विद्यार्थीमा आत्मअनुशासन, एकाग्रता र आत्मविश्वास बढाउने काम गर्छ। यसले शारीरिक स्वास्थ्यसँगै मानसिक सन्तुलनमा समेत सकारात्मक प्रभाव पार्दछ।”
प्रशिक्षणमा योगका विभिन्न आसन, श्वासप्रश्वास (प्राणायाम), ध्यान (मेडिटेसन) लगायतका अभ्यास गराइँदैछ। कार्यक्रमबाट विद्यार्थीहरूमा स्वास्थ्यप्रतिको चेतना अभिवृद्धि हुनुका साथै नियमित योग अभ्यासको संस्कार बसाउने अपेक्षा गरिएको छ।

योगको महत्त्व:
योग केवल शारीरिक कसरत होइन, यो जीवनशैली हो। नियमित योग अभ्यासले—
- रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
- मानसिक तनाव घटाउँछ
- एकाग्रता र स्मरणशक्ति सुधार गर्छ
- शरीरलाई लचिलो र सक्रिय बनाउँछ
- सकारात्मक सोच र आत्मविश्वासको विकास गर्छ ।
संघले आगामी दिनमा जिल्लाभरिका विद्यालयहरूमा पुगेर यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको जनाएको छ।

