काठमाडौँ, साउन २४ गते – गाईजात्रा पर्वको अवसरमा बागमती प्रदेश सरकारले पहिलोपटक आगामी साउन २५ गते (आइतबार) प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेश राजपत्रमा सूचना प्रकाशित भइसकेको छ।
नेवार समुदायको मौलिक संस्कृति झल्किने गाईजात्रा पर्व प्रदेशको सांस्कृतिक विविधता र समावेशीपनको प्रतीक मानिने भएकाले यस वर्षदेखि प्रदेशभर बिदा दिइने भएको हो। अघिल्ला वर्षहरूमा काठमाडौं उपत्यकाभित्र मात्र बिदा दिइने गरिएको थियो।
गाईजात्रा पर्व विशेषगरी काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, धादिङ, मकवानपुर लगायत नेवार समुदायको बाक्लो उपस्थिति भएका जिल्लामा उल्लासपूर्वक मनाइन्छ। दिवंगत पितृको सम्झनामा गाई वा मानिसलाई गाईसरह सिँगारी नगरपरिक्रमा गराइने यो पर्व जनैपूर्णिमापछिको दिनदेखि सुरु भई आठ दिनसम्म मनाइन्छ।
पछिल्लो समय गाईजात्रा हास्य–व्यङ्ग्यको पर्वका रूपमा पनि चर्चित हुँदै आएको छ। यस अवसरमा पत्रपत्रिका तथा मिडियामा विशेष कार्यक्रम प्रसारण हुने गर्छन् भने कलाकारहरूले व्यङ्ग्यात्मक प्रस्तुति मार्फत सामाजिक विकृति–विसङ्गतिमाथि प्रहार गर्ने गर्छन्।
सूचना यस्तो छ ।

