धादिङमा माओवादी केन्द्रद्वारा दुईदिने प्रशिक्षक निर्माण तालिम सुरु, १५० कार्यकर्ता सहभागी


  • दिव्यदर्शन
  • शनिबार, साउन १८ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ, साउन १७ — नेकपा (माओवादी केन्द्र) धादिङले आफ्ना कार्यकर्ताहरूको सांगठानिक दक्षता अभिवृद्धि गर्नका लागि जिल्लास्तरीय प्रशिक्षक निर्माण तालिम सुरु गरेको छ। दुई दिनसम्म सञ्चालन हुने तालिम आजदेखि धादिङबेसीस्थित जिल्ला समन्वय समितिको सभाहलमा सुरु भएको हो। तालिममा करिब १५० जना सहभागी छन्।

पार्टीको सांगठानिक सुदृढीकरण र प्रशिक्षण संरचना बलियो बनाउन उद्देश्यसहित आयोजना गरिएको तालिममा प्रत्येक स्थानीय तहबाट १० जना तथा विभिन्न जनवर्गीय संगठनका जिल्ला संयोजकहरूको प्रतिनिधित्व रहेको छ। तालिमपछि परीक्षा लिइने र सफल प्रशिक्षकहरूलाई पालिकास्तरका कार्यक्रमहरूमा खटाइने पार्टीले जनाएको छ।हालै सम्पन्न प्रदेशस्तरीय स्कुल विभागको तालिमबाट उत्तीर्ण भएका प्रशिक्षकहरूले जिल्लास्तरीय तालिममा सहजीकरण गरिरहेका छन्। प्रशिक्षणमा विविध सैद्धान्तिक, व्यवहारिक र प्राविधिक विषयवस्तुहरू समेटिएका छन्:

  • दर्शनशास्त्र — झम्क परियार
  • माक्र्सवादी अर्थशास्त्र — प्रकाश आचार्य
  • वैज्ञानिक समाजवाद — करिमान तामाङ, हरि बहादुर विश्वकर्मा
  • संगठन अभ्यास — सरोज तामाङ, सुब्बा रम्तेल
  • कम्युनिष्ट आन्दोलनको इतिहास — दिपक लामिछाने
  • संगठन तथा कार्यालय व्यवस्थापन — नवराज अधिकारी
  • राज्यसत्ता र सरकार सञ्चालन — प्रेम तामाङ, राजकुमार उप्रेती
  • सूचना प्रविधि र सामाजिक सञ्जाल — अमृत तामाङ
  • निर्वाचन परिचालन — खेमराज भुजेल
  • स्थानीय सरकार र समाजवाद उन्मुख दृष्टिकोण — पुष्प विक्रम मल्ल

कार्यक्रमको उद्घाटन नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा धादिङ इञ्चार्ज पुष्प विक्रम मल्लले गर्नुभएको हो। साथै, कार्यक्रममा पूर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेल, केन्द्रीय सदस्यहरू अप्सरा सिंखडा दिपा, रामबहादुर भण्डारी, र प्रदेश सह-सचिव दलबहादुर बुर्लाकोटीको उपस्थिति रहेको थियो।

नेताहरूले प्रशिक्षणलाई केवल ज्ञान आदानप्रदानको माध्यम मात्र नभई, पार्टी र जनताबीचको सम्बन्ध थप बलियो बनाउने अवसरका रूपमा लिनुपर्नेमा जोड दिएका थिए।

पार्टीले तालिमपछि प्रशिक्षकहरूलाई पालिकास्तरमा खटाएर सांगठनिक कार्यक्रम, जनसञ्चार, राजनीतिक प्रशिक्षण र जनसंपर्क अभियानमा संलग्न गराउने योजना बनाएको छ। यसले संगठनभित्र प्रशिक्षण संस्कृतिलाई संस्थागत गर्दै जनस्तरसम्म सिद्धान्त, नीति र व्यवहारको गहिरो पहुँच पुर्‍याउने अपेक्षा गरिएको छ।

यो तालिम माओवादी केन्द्रको सांगठनिक पुनर्संरचना तथा नेतृत्व उत्पादन प्रक्रियाको सकारात्मक संकेतका रूपमा लिइएको छ। स्थानीय तहसम्म पुगेर दक्ष, विचारयुक्त र प्रतिबद्ध कार्यकर्ता उत्पादन गर्ने प्रयासले पार्टीलाई दीर्घकालीन रूपमा सशक्त बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web