त्रिपुरासुन्दरी गाउँपालिकाको विद्युत् समस्या समाधानतर्फ जनप्रतिनिधिको सक्रिय पहल


  • दिव्यदर्शन
  • शनिबार, साउन १८ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ, साउन १७ — त्रिपुरासुन्दरी गाउँपालिकामा लामो समयदेखि देखिएको विद्युत् आपूर्तिको समस्यालाई लिएर गाउँपालिकाले नेपाल विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराउँदै समाधान खोज्ने दिशा तर्फ सक्रिय पहल थालेको छ।

गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलद्वारा नेपाल विद्युत् प्राधिकरण, धादिङ शाखामा बुझाइएको ध्यानाकर्षण पत्रमार्फत कम भोल्टेज, कमजोर करेन्ट तथा अनियमित विद्युत् प्रवाहका कारण सर्वसाधारणले भोग्दै आएको समस्याको गम्भीरतापूर्वक उल्लेख गरिएको छ।

धरेलका अनुसार, “गाउँपालिकाका सबै वडाहरूमा एक दशकभन्दा बढी समयदेखि नेशनल ग्रिडबाट विद्युत् आपूर्ति हुँदै आएको भए पनि पछिल्लो समय दैनिक रूपमा प्रवाह कमजोर हुनु, कम भोल्टेज तथा करेन्टका कारण आम नागरिकलाई कठिनाइ हुँदै आएको छ। विद्युत् प्रवाह अस्थिर हुँदा विद्युतीय उपकरण जलेको र क्षति पुगेको जनगुनासो व्यापक छ।”

विशेषगरी गर्मीको मौसममा साझ र बिहानको समयमा विद्युत् अत्यधिक आवश्यक पर्छ। तर सोही समयमा पनि सेवा अवरुद्ध हुने समस्या देखिनुले उपभोक्तालाई थप अप्ठ्यारो परेको जनाइएको छ।

वडा नं. ४ मा रहेको आँखुखोला जलविद्युत् आयोजनाले पनि विद्युत् उत्पादन गर्दै आएको भए तापनि नियमित र स्थिर आपूर्ति हुन नसक्दा चुनौती कायमै रहेको छ। यद्यपि, स्थानीय उत्पादनलाई मजबुत बनाउँदै राष्ट्रिय प्रसारणसँगको समन्वयमार्फत दिगो समाधान खोजिने उपाध्यक्ष धरेलले बताएका छन्।

गाउँपालिकाले नेपाल विद्युत् प्राधिकरणसँग गम्भीर ध्यान दिई, नियमित, भरपर्दो तथा सुरक्षित विद्युत् प्रवाह सुनिश्चित गर्न आग्रह गरेको छ। यसअघि पनि पालिकाले विभिन्न माध्यमबाट समस्या समाधानको पहल गर्दै आएको र अब परिणाममुखी कदमको अपेक्षा गरिएको धरेलको भनाइ छ।

उनले भने, “हामी विकास र सेवाको सन्तुलित पहुँचमा विश्वास गर्छौं। विद्युत् आपूर्तिको गुणस्तरीयता नबढाई समृद्ध गाउँको कल्पना अधुरो हुन्छ। त्यसैले सम्बन्धित निकायको सहकार्यमा दिगो समाधानको बाटो खुल्नेछ भन्ने आशा लिएको छु।”

उपाध्यक्ष धरेलको सक्रियता र समस्या समाधानतर्फको पहलले स्थानियवासीमा सकारात्मक सन्देश दिएको छ। जनप्रतिनिधिको आवाज र चासोलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने हो भने त्रिपुरासुन्दरी गाउँपालिका छिट्टै विद्युत् समस्यामुक्त बन्दै समुन्नत जीवनस्तरको दिशामा अघि बढ्ने विश्वास गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web