धादिङ — नेपाल निजामती कर्मचारी संगठन, धादिङले नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयमा अध्ययनरत दलित, गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।
सहिद मनोज, झपेन्द्र र सुरेन्द्रको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा ११ जना विद्यार्थीलाई कापी, सिसाकलम, रङ, ज्यामेट्री बक्स लगायतका शैक्षिक सामग्री प्रदान गरिएको हो।
कार्यक्रमबारे जानकारी दिँदै संगठनका अध्यक्ष वीर बहादुर दुवाडीले भने, “हामीले हरेक स्मृति दिवसमा सामाजिक कार्य गर्दै आएका छौं। गत वर्षहरूमा अन्य विद्यालयमा सामग्री वितरण गरेका थियौं भने यस वर्ष नीलकण्ठ बालमन्दिरका भाइबहिनीहरूलाई सहयोग गरेका छौं।”
उहाँले सहिदहरूको सम्झनामा गरिएको यो कार्यले अध्ययनरत बालबालिकालाई सानो भए पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
शैक्षिक सामग्री पाएका विद्यार्थीहरू तथा अभिभावकहरूले खुसी व्यक्त गरेका छन्। छात्र सुसिम मगरले पाएको सामग्रीको भरपूर सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै संगठनप्रति आभार प्रकट गरे। उनका अनुसार यस्तो सहयोगले गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई ठूलो मनोबल मिल्नेछ।
