धादिङ,-
त्रिपुरासुन्दरी गाउँपालिकाले स्थायी ठेगाना त्रिपुरासुन्दरीमै भइ देशका विभिन्न स्थानहरूमा बसोबास गरिरहेका सामाजिक सुरक्षा भत्ता प्राप्त लाभग्राहीलाई लक्षित गरी जिल्लाबाहिर पनि परिचयपत्र नविकरणको सेवा दिने भएको छ। गाउँपालिकाले काठमाडौं, चितवन र पोखरामा विशेष घुम्ती सेवा शिविर सञ्चालन गर्ने निर्णय गरेको हो।
गाउँपालिकाका अनुसार सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०७७ को दफा ४(४) अनुसार प्रत्येक लाभग्राहीले प्रत्येक वर्ष भदौ मसान्तभित्र परिचयपत्र नविकरण गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ। चालु आर्थिक वर्ष २०८२/८३ बाट बायोमेट्रिक प्रणालीमार्फत अनिवार्य नविकरण प्रक्रिया लागू भएकोले विदेशबाहेक देशका अन्य भागमा रहेका लाभग्राहीलाई लक्षित गर्दै यस्तो व्यवस्था गरिएको पालिकाले जानकारी दिएको छ।
गाउँपालिकाले प्रकाशित सूचना अनुसार तोकिएका मिति, स्थान र समय यसप्रकार छन्:
🔶 काठमाडौं सेवा शिविर
- 🗓 मिति: २०८२ साउन ९ र १० गते
- 🕗 समय: बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म
- 📍 स्थान: आन्तरिक राजस्व कार्यालय परिसर, कलंकी
🔶 चितवन सेवा शिविर
- 🗓 मिति: २०८२ साउन १२ र १३ गते
- 🕗 समय: बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म
- 📍 स्थान: रत्ननगर नगरपालिका वडा नं. २ को कार्यालय परिसर, टाँडी
🔶 पोखरा सेवा शिविर
- 🗓 मिति: २०८२ साउन १५ र १६ गते
- 🕗 समय: बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म
- 📍 स्थान: पोखरा महानगरपालिका वडा नं. ९ को कार्यालय परिसर, न्युरोड
गाउँपालिकाले सबै लाभग्राहीहरूलाई तोकिएको मिति, स्थान र समयमा अनिवार्य उपस्थित भई परिचयपत्र नविकरण गर्न आग्रह गरेको छ। सूचना अनुसार, समयमा उपस्थित नभई नविकरण नगरेको अवस्थामा लाभग्राही स्वयं जिम्मेवार हुने र थप प्रक्रिया नियमअनुसार अघि बढ्ने उल्लेख गरिएको छ।
गाउँपालिकाको यो पहललाई सामाजिक सुरक्षा सुनिश्चित गर्न र सेवा पहुँच बढाउन गरिएको सशक्त कदमका रूपमा हेरिएको छ। यसले देशभर फैलिएका त्रिपुरासुन्दरीबासी लाभग्राहीहरूलाई सहज रूपमा सेवा लिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

