काठमाडौँ, साउन ५ – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन मन्त्रालयले सार्थक र दीर्घकालीन सुधारका पहल अघि बढाएको बताएका छन्। मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्ष पुगेको अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले नीति, सेवा प्रवाह, संरचना तथा प्रविधिमा भएका प्रमुख प्रगति सार्वजनिक गरे।
उहाँले नेपालको कृषि उत्पादन वृद्धि, बजारीकरण, आधुनिकीकरण र किसानको जीवनस्तर उकास्न मन्त्रालयले प्राथमिकताका साथ कार्यक्रमहरू अघि बढाएको जानकारी दिए। मन्त्री अधिकारीका अनुसार, धानमा आत्मनिर्भर बन्ने दिशामा देश अघि बढ्दै गर्दा मधेस प्रदेशमा खडेरीका कारण देखिएको समस्याको अध्ययनका लागि कर्मचारी टोली खटाइएको छ।
प्रमुख उपलब्धिहरू:
- रासायनिक मल आपूर्ति व्यवस्थापनमा सुधार:
रासायनिक मल खरिद तथा वितरणसम्बन्धी नियमावली र कार्यविधिको संशोधन गरिएको छ। - संस्थागत सुदृढीकरण:
सात वर्षदेखि रोकिएको कृषि सेवा तर्फको कर्मचारी समायोजनलाई अन्त्य गर्दै १२९ नयाँ दरबन्दी थप गरिएको छ। - नीतिगत पहलहरू:
- बीउ बिजन नियमावली २०८१ लागू।
- कृषि तथा पशुपन्छी बीमा प्रणाली डिजिटल बनाइँदै।
- कृषि विधेयक र राष्ट्रिय कृषि नीतिको मस्यौदा अन्तिम चरणमा।
- पशु कल्याण ऐन तयार।
- प्रविधिमा आधारित सेवा विस्तार:
बीउ विजनसँग सम्बन्धित दर्ता, प्रमाणीकरण जस्ता कार्य अनलाइनमार्फत् सञ्चालन।
पाँचवटा पशुपन्छी रोग प्रयोगशालामा ल्याब इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम सुरु। - अनुसन्धान र पूर्वाधारमा सुधार:
- खाद्य गुणस्तर परीक्षणका लागि रोकिएका चार मोबाइल भ्यान सञ्चालनमा।
- नेपाल कृषि अनुसन्धान परिषद्को पुनःसंरचनाका लागि कार्यदल गठन।
- नयाँ दिवस घोषणा:
- साउन १६ गते राष्ट्रिय कोदो दिवस।
- वैशाख ७ गते राष्ट्रिय याक दिवस।
- नयाँ बजार पहिचानको पहल:
इलाम जिल्लाका तीन क्षेत्रमा खोरेत रोगमुक्त क्षेत्र घोषणा तयारीमा। यसले मासु, दुध, घिउजस्ता वस्तुको अन्तर्राष्ट्रिय बजारमा पहुँच बढाउने अपेक्षा। - उत्कृष्ट किसान सम्मान:
सात प्रदेशका १४ जना उत्कृष्ट किसानलाई राष्ट्रिय उत्कृष्ट किसान पुरस्कार प्रदान।
मन्त्री अधिकारीले “सम्भाव्यता, प्रविधि र किसानको आत्मविश्वासमा आधारित समावेशी कृषि विकास” आफ्नो लक्ष्य रहेको बताए। “सकेसम्म मेरो सोचअनुसार सबै काम गर्न सकिएन, तर म किसान र कृषि क्षेत्रको हितमा पूर्ण रूपले प्रतिबद्ध छु,” भन्ने मन्त्री अधिकारीको भनाइले भविष्यप्रति सकारात्मक संकेत दिएको छ।
