धादिङ — खनियाबास गाउँपालिका–३, कुरी गाउँमा अवस्थित ऐतिहासिक ल्याक्चे कुण्डमा पालिका स्तरीय खुल्ला पुरुष पौडी प्रतियोगिता सम्पन्न भएको छ। ‘हाम्रो गाउँ आफैं बनाऔं’ भन्ने मूल नाराका साथ ल्याक्चे कुण्ड संरक्षण समाजले हरेक वर्ष सञ्चालन गर्दै आएको प्रतियोगिताको यो पाँचौं संस्करण हो। स्थानीय पर्यावरण, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित साउन २ गते सम्पन्न भएको प्रतियोगितामा चार फरक उमेर समूहका ३० जना सहभागी थिए।
प्रतियोगिताको ३० देखि ४० वर्ष उमेर समूहमा विष्णु तामाङ पहिलो, मनराम तामाङ दोस्रो र विजय लामा तेस्रो भए। २० देखि ३० वर्ष उमेर समूहमा सरुन तामाङले पहिलो स्थान हासिल गरे भने समिर तामाङ दोस्रो र लोकमान तामाङ तेस्रो भए। १५ देखि २५ वर्ष उमेर समूहतर्फ छिरिङ तामाङ प्रथम, अवतार तामाङ द्वितीय र आकाश तामाङ तृतीय बने। त्यस्तै १० देखि १५ वर्ष उमेर समूहमा विवेक तामाङ पहिलो, गौतम तामाङ दोस्रो र वरदान तामाङ तेस्रो भए।
प्रतियोगितासँगै महिला दौड र हाँडी फुटाईजस्ता अतिरिक्त कार्यक्रमसमेत आयोजना गरिएको थियो। महिला दौडमा सृजना तामाङ प्रथम, उषा तामाङ दोस्रो र पूर्णिमा तामाङ तेस्रो भइन्। हाँडी फुटाईमा अञ्जु तामाङ प्रथम भइन्। प्रतियोगितामा विजेता खेलाडीहरूलाई खनियाबास–३ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि कमानसिं तामाङले पुरस्कार वितरण गरेका थिए।
ल्याक्चे कुण्डलाई ऐतिहासिक र सांस्कृतिक दृष्टिले समेत महत्वपूर्ण मानिन्छ। स्थानीय किम्बदन्तीअनुसार, यो कुण्ड प्राचीन समयदेखि नै अवस्थित रहेको मानिन्छ। कुनै समय गहिरो रहेको कुण्ड माथिबाट आएको पहिरोका कारण पुरिएको विश्वास गरिएको छ। ‘ल्याक्चे’ नामको लहरामा फल्ने वनस्पतिको नामबाट कुण्डको नामाकरण गरिएको स्थानीयको भनाइ छ। कुण्डमा प्रत्येक वर्ष ठूली एकादशीमा मेला लाग्ने गर्दछ, जसमा बोन धर्मावलम्बी झाँक्रीहरू अर्थली, कुरी र झार्लाङ क्षेत्रबाट आउँछन्।
कुण्डको पानी कार्तिक महिनासम्म टलपल भरिएको देखिन्छ। त्यस अवधिमा स्थानीयले नुहाउने चलन छ। कुण्डदेखि माथि तातोपानीको मुहान रहेको र हिउँदमा त्यहाँको पानी तातो हुने गरेको जनाइएको छ। पछिल्लो समय हिउँ पर्न कम भए पनि अघिल्लो वर्ष परेको हिउँ केही दिनसम्म टिकेको थियो। साउन २ गते पौडी प्रतियोगिता गरिँदै आएको यो दिन स्थानीय तथा आन्तरिक पर्यटकको उल्लेखनीय उपस्थिति रहने गर्दछ।
ल्याक्चे कुण्डसम्म धादिङबेसीबाट जीपमा करिब चार घण्टा लाग्छ भने काठमाडौंबाट नुवाकोटको त्रिशूली हुँदै यात्रुवाहक बसमार्फत करिब नौ घण्टा लाग्ने जानकारी दिइएको छ।
source:dhadingpost.com
