धादिङ, थाक्रे /
सामाजिक उत्तरदायित्व र सेवा भावनालाई केन्द्रमा राख्दै थाक्रे गाउँपालिका वडा नम्बर ६ ले अपांग, अशक्त, असाहाय, जेष्ठ नागरिक, दलित, मजदुर, विपन्न वर्ग तथा आकस्मिक (इमर्जेन्सी) बिरामीका लागि निःशुल्क अटो सेवा सञ्चालनमा ल्याएको छ।यस नविनतम जनकल्याणकारी पहलको सुरुवात वडाध्यक्ष हिरा बहादुर थापाको अगुवाइमा गरिएको हो। सेवाले वडाका ती नागरिकलाई लक्षित गरेको छ, जो आर्थिक, शारीरिक वा सामाजिक दृष्टिले कमजोर अवस्थामा छन् र दैनिक जीवनमा यातायातको सुविधाबाट वञ्चित छन्।
कार्यक्रमको औपचारिक सुरुवातका क्रममा गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले यस्तो सेवाले वडाको सामाजिक समावेशिता र नागरिकहरूको जीवनस्तर सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्थानीय सरकार नागरिक नजिक पुग्नुपर्ने र सेवा दिन प्रतिबद्ध हुनुपर्ने सन्देश समेत दिनुभयो।त्यस्तै, गाउँपालिकाका उपाध्यक्ष यन्त्र बहादुर थापाले निःशुल्क अटो सेवा जनताको जीवनलाई सहज बनाउने एक सकारात्मक कदम भएको उल्लेख गर्नुभयो। उहाँले यस्तो सेवा विस्तार अन्य वडामा पनि हुनुपर्ने र गाउँपालिकाले त्यसका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो।
वडाध्यक्ष थापाका अनुसार अटो सेवा आवश्यक पर्ने व्यक्तिले वडा कार्यालय वा तोकिएको सम्पर्क नम्बरमार्फत सेवा अनुरोध गर्न सक्नेछन्।

स्थानीय बासिन्दाले यस्तो सेवा सुरु भएकोमा खुसी व्यक्त गर्दै वडाको पहलप्रति आभार व्यक्त गरेका छन्।यस कार्यक्रमले सामाजिक न्याय, पहुँच र समानताको भावना प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
