धादिङ ।
नीलकण्ठ नगरपालिकाले जेसि, सामाजिक परीक्षण र आवधिक योजना सम्बन्धी परामर्श कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ।

नगरपालिकाद्धारा आयोजित कार्यक्रममा नगरपालिकाका सल्लाहकार दीपक कोइरालाले जेसि तथा आवधिक योजनाका सन्दर्भमा सहजीकरण गर्नुभएको थियो। उहाँले स्थानीय तहको योजनाबद्ध विकासका लागि यस्ता संकेतकहरूको प्रयोग र आवधिक योजना निर्माणको प्रक्रिया तथा त्यसको महत्त्वबारे विस्तृत रूपमा जानकारी दिनुभयो।

त्यसैगरी, सामाजिक परीक्षणसम्बन्धी प्रस्तुतीकरण नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीले दिनुभएको थियो। उहाँले सामाजिक परीक्षणलाई सुशासन प्रवद्र्धन गर्ने माध्यमको रूपमा चर्चा गर्दै नगरपालिकाको कामकारबाही जनप्रतिनिधि र नागरिकबीच पारदर्शी बनाउने विषयमा जोड दिनुभयो। उहाँले सामाजिक परीक्षणको कानुनी व्यवस्था, प्रक्रिया, चुनौती र अभ्यासहरूबारे समेत प्रकाश पार्नुभयो।

त्यस्तै नगरपालिकाको समग्र कार्यप्रगतिबारे प्रशासन शाखाका अधिकृत लोकनाथ उपाध्ययले जानकारी गराउनुभएको थियो ।

कार्यक्रमको समापनमा नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाले मन्तव्य राख्दै यस्ता कार्यशालाले नगरपालिकाको योजनाबद्ध विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले पारदर्शिता, जवाफदेहिता र सहभागितामूलक विकासप्रति नगरपालिकाको प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा यस्ता गतिविधिलाई अझ सशक्त रूपमा अगाडि बढाउने बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि, पत्रकार, स्थानीय संघसंस्था,टोल बिकास संस्था तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

