धादिङ,
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा हरेक वर्ष प्रकाशन गरिने नेपाल मानव अधिकार वर्षपुस्तक २०२६ का लागि संकलित घटनाहरूको अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रम असार ३० गते सम्पन्न भएको छ।
इन्सेकले सन् २०२५ को जनवरीदेखि जुनसम्म धादिङ जिल्लामा भएका ३८ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू अभिलेख गरेको जनाएको छ। इन्सेक जिल्ला प्रतिनिधि सीताराम अधिकारीका अनुसार ती घटनामा ३८ जना पीडित रहेका छन्।
घटनाहरू यस प्रकार छन्:
- बाल अधिकार अन्तर्गत १२ घटना – जसमा बलात्कार, बलात्कार प्रयास तथा यौन दुर्व्यवहार सामेल छन्।
- महिलाविरुद्ध हुने हिंसाका ७ घटना – बलात्कार र बलात्कार प्रयास।
- घरेलु हिंसा १७ घटना
- कारागारमा मृत्यु १ घटना
- हत्या २ घटना
कार्यक्रममा सहभागी वक्ताहरूले राजनीतिक अधिकारका साथै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूलाई पनि मानव अधिकारको मूल तत्वका रूपमा समेट्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा धादिङ जिल्ला समन्वय समिति उपप्रमुख कुलमान विश्वकर्माले दुरदराजका घटनाहरू पनि नछुटाई समेट्न तथा मानव अधिकार संरक्षणमा प्रतिवद्धता जनाउन आग्रह गर्नुभयो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले प्रहरी मानव अधिकारप्रति संवेदनशील र प्रतिबद्ध रहेको बताउँदै, महिला, दलित, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिका मुद्दालाई प्राथमिकताका साथ हेर्ने काम भइरहेको जानकारी दिनुभयो।
नेपाल मानव अधिकार संगठनका जिल्ला अध्यक्ष कृष्णराज अधिकारीले पछिल्ला वर्षहरूमा फौजदारी प्रकृतिका मुद्दा केही कमी भए पनि देवानी प्रकृतिका घटनाहरू यथावत् रहेको भन्दै यसबारे गम्भीर अध्ययन आवश्यक रहेको उल्लेख गर्नुभयो।
दलित सेवा संघका अध्यक्ष श्याम मगरातीले शिक्षाको अधिकार अन्तर्गत हुने भेदभावप्रति चिन्ता व्यक्त गर्दै, नीलकण्ठ बालमन्दिर माविका शिक्षकले एसईई प्रायोगिकमा पूर्णाङ्कमा अन्यायपूर्ण मूल्याङ्कन गरेका कारण विद्यार्थीहरू समस्यामा परेको घटनालाई पनि मानव अधिकारको विषयवस्तुमा समावेश गर्नुपर्नेमा जोड दिनुभयो।
