धादिङबेशीमा सामुदायिक सुरक्षा जालो कार्यक्रम अन्तर्गत सार्वजनिक सुनुवाई कार्यक्रम


  • दिव्यदर्शन
  • मंगलबार, असार २४ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ
धादिङबेशीमा सामुदायिक सुरक्षा जालो कार्यक्रम अन्तर्गत सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। फोकस नेपालद्वारा सञ्चालित यस कार्यक्रममा नागरिक आवाजको सहकार्य रहेको छ। कार्यक्रममा परियोजनाले हालसम्म गरेका कार्यहरू, सिकाइका पक्षहरू, प्राप्त उपलब्धिहरू र भोगाइहरूको आदानप्रदान गरिएको थियो।कार्यक्रमको उद्घाटन सत्रमा फोकस नेपालकी अन्जु श्रेष्ठले परियोजनाको हालसम्मको प्रगतिको विवरण प्रस्तुत गर्नुभयो। उहाँले परियोजनाले सामुदायिक सुरक्षा, महिला सशक्तीकरण, सामाजिक सचेतना अभिवृद्धि र स्थानीय तहमा महिला समूहहरूको भूमिकालाई बलियो बनाएको उल्लेख गर्नुभयो।

श्रेष्ठका अनुसार, परियोजनाअन्तर्गत हालसम्म नीलकण्ठ नगरपालिका वडा नम्बर ४ र बेनिघाट रोराङ गाउँपालिका–२, ८, ९ र १० मा गरी २५ वटा महिला समूहहरू गठन गरिएका छन्। ती समूहहरू सामुदायिक छलफल, सहजीकरण, नेतृत्व विकास, घरेलु हिंसा विरुद्धको जनचेतना र आत्मनिर्भरताका कार्यक्रमहरूमा संलग्न छन्।कार्यक्रममा सहभागी महिलाहरूले समूहमा आबद्ध भएपछि आएको परिवर्तनबारे आफ्ना अनुभवहरू साझा गरेका थिए। उनीहरूले समूहले आफूभित्र आत्मविश्वास विकास गर्न सहयोग गरेको, सामूहिक रूपमा आवाज उठाउने हिम्मत दिएको र विशेषतः घरेलु हिंसाको विरुद्ध बोल्न सक्ने हिम्मत दिएको बताएका छन्।यस्तै, जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान विश्वकर्माले यस्ता कार्यक्रमहरूले महिलाहरूमा आत्मबल, नेतृत्व क्षमता र निर्णय प्रक्रियामा सक्रिय सहभागिता बढाएको उल्लेख गर्दै, “यस्ता कार्यक्रमलाई दीर्घकालीन रूपमा निरन्तरता दिन सबै पक्षको सहकार्य आवश्यक छ,” भन्नुभयो।कार्यक्रमको समापनमा सहभागी सरोकारवालाहरूले परियोजनाले समुदायमा सकारात्मक प्रभाव पारिरहेको भन्दै आगामी दिनमा अझ फराकिलो पहुँचसहित कार्यक्रमलाई विस्तार गर्न सुझाव दिए। साथै, महिला नेतृत्व विकास, आयआर्जनका थप स्रोतहरू पहिचान, युवा संलग्नता र सरकारी समन्वय थप सुदृढ गर्नुपर्ने धारणा पनि व्यक्त गरिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web